अर्थमन्त्री पौडेलले भने, बैंकहरुको कर्जा लगानी बढ्न नसक्नु गम्भीर विषय हो
“व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव हामीसँग छ । यसकारण बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध जीवन्त हुनुपर्छ ।”
वि.सं.२०८१ माघ ७ सोमवार
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् ।
कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप संकलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताए । अर्थमन्त्री पौडेलले भने, “पछिल्लो दिनहरुमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ”, ।
अर्थमन्त्री पौडेलले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत निर्देशन दिए । “बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ । तर हामी यसैमा रमाएर बस्ने होइन । अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि बढ्नुपर्छ”, अर्थमन्त्री पौडेलले भने, “व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव हामीसँग छ । यसकारण बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध जीवन्त हुनुपर्छ ।” कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताए ।
“मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरु हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ । बाह्य क्षेत्रमा सन्तुलन छ । बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै छ । बैंकमा तरलता पर्याप्त छ । ब्याजदर घटेको छ”, गभर्नर अधिकारीले भने, “गतवर्षको तुलनामा भन्दा सरकारी राजस्व बढेको छ । आयात(निर्यात बढ्न थालेको छ । पछिल्लो समय पुँजी निर्माणसँग सम्बन्धित सामानहरुको आयात बढेको छ । यसकारण हामी निरुत्साहित हुनुहुँदैन । हाम्रा सकारात्मक पक्ष धेरै छन् ।”
कृषि विकास बैंकको व्यवस्थापन र कार्यक्षमता अब्बल रहेकोसमेत गभर्नर अधिकारीले बताए । नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने नेतृत्व कृषि विकास बैंकले गरिरहेको उनको भनाइ थियो । बैंकिङ प्रणालीबाट कृषि क्षेत्रमा भएको लगानीमा यो बैंकको मुख्य योगदान रहेको गभर्नर अधिकारीले बताए ।
बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे ।
नेपालको ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने प्रमुख उद्देश्यका साथ विसं २०२४ माघ ७ गते ५ करोड अधिकृत पुँजीसहित कृषि विकास बैंकको स्थापना भएको थियो ।
अहिले बैंक ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको छ । बैंकले हालसम्म १ लाख ५१ हजार कर्जा ग्राहकमा करिब २ खर्ब ६ अर्ब कर्जा लगानीमा रहेको छ । करिब २० लाख ३४ हजार निक्षेपकर्ताको २ खर्ब ५९ अर्ब निक्षेप परिचालन गरिरहेको छ ।
बैंकको अधिकृत पुँजी २५ अर्ब, जारी पुँजी १९ अर्ब २८ करोड ६४ लाख ५१ हजार ३ सय छ । संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशतले हुन आउने ७ अर्ब ६ करोड ६१ लाख ६४ हजार ३ सय ९३ र सर्वसाधारण समूह शेयरधनीको ४९ प्रतिशतले ६ अर्ब ७८ करोड ९० लाख ५९ हजार ९ सय ७ कायम हुनेछ ।
प्रकाशित समय : १७:४६ बजे






















