टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?
वि.सं.२०८३ साउन २४ आइतवार
काठमाडौं । नेपाली बजारमा लोकप्रिय टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित नयाँ भर्सनमा आएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ४० किलोवाट ब्याट्री प्याकसहितको नयाँ पन्च ईभीको मिडिया टेस्ट ड्राइभ आयोजना गर्दै यसको नयाँ विशेषता सार्वजनिक गरेको हो ।
भक्तपुरको राधेराधेदेखि धुलिखेलको टेम्पल डर्टसम्म आयोजना गरिएको टेस्ट ड्राइभका क्रममा नयाँ पन्च ईभीको अफरोड क्षमता, कम्फर्ट र ड्राइभिङ डाइनामिक्स प्रदर्शन गरिएको थियो ।
सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल डिभिजनका जनरल म्यानेजर सावन्तजंग सिजापतिका अनुसार नयाँ पन्च ईभी अघिल्लो मोडलको तुलनामा थप शक्तिशाली र लामो दूरीको यात्राका लागि उपयुक्त बनाइएको छ । उनका अनुसार यसअघि मुख्यतः सहर केन्द्रित कारका रूपमा रहेको पन्च ईभी अब ठूलो ब्याट्री प्याकसँगै हाइवेमा समेत राम्रो प्रदर्शन गर्ने गरी परिमार्जन गरिएको छ ।
पहिले २५ किलोवाट ब्याट्रीमा उपलब्ध पन्च ईभीमा अब ४० किलोवाटको ठूलो ब्याट्री प्याक राखिएको छ । कम्पनीका अनुसार नयाँ पन्च ईभीले ३०० किलोमिटरभन्दा बढी रेन्ज दिनेछ । यसले सहरभित्रको दैनिक यात्रासँगै एक सहरबाट अर्को सहरसम्मको यात्रालाई पनि सहज बनाउने कम्पनीको दाबी छ ।
नेपाली सडकलाई लक्षित गर्दै नयाँ पन्च ईभीमा १९५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स दिइएको छ । सुरक्षातर्फ ५-स्टार सेफ्टी रेटिङ प्राप्त यो गाडीमा ६ वटा एयरब्यागसहित ६० भन्दा बढी सुरक्षा फिचर उपलब्ध छन् । गाडीमा ३६० डिग्री क्यामेरा, अपग्रेड गरिएको इन्फोटेनमेन्ट सिस्टम तथा फराकिलो क्याबिन स्पेससमेत दिइएको छ ।
नयाँ पन्च ईभीको आधिकारिक मूल्य र औपचारिक लन्च नाइमा मोबिलिटी एक्स्पो २०२६ मा गरिने सिप्रदीले जनाएको छ । कम्पनीका अनुसार गाडीमा थप फिचरहरू समावेश गरिए पनि ग्राहकका लागि उचित र प्रतिस्पर्धी मूल्य कायम गर्ने प्रयास गरिएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा टाटाले पन्च ईभीसँगै अर्को नयाँ मोडलसमेत सार्वजनिक गर्ने तयारी गरेको छ । यद्यपि, उक्त नयाँ मोडलका विषयमा कम्पनीले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।
सिप्रदीले नेपालमा विद्युतीय सवारीको इकोसिस्टम विस्तारमा समेत लगानी गर्दै आएको छ । कम्पनीका अनुसार हाल देशभर २१ वटा ईभी केन्द्रित सर्भिस सेन्टर, ३८ वटा डीसी फास्ट चार्जर र १५० भन्दा बढी एसी चार्जर सञ्चालनमा छन् । टाटा ईभी खरिद गर्ने ग्राहकलाई घरमै निःशुल्क होम चार्जर जडान गर्ने सुविधा पनि कम्पनीले निरन्तरता दिएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा पन्च ईभी बुकिङ गर्ने ग्राहकका लागि विशेष मूल्य तथा इमिडिएट डेलिभरी अर्थात् तत्काल गाडी उपलब्ध गराउने योजना पनि टाटाले अघि सारेको छ । यससँगै नयाँ पन्च ईभीले नेपाली ईभी बजारमा आफ्नो प्रतिस्पर्धात्मक उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : १०:१५ बजे





















