एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ, भैंसेपाटी निवासमा छापा
वि.सं.२०८३ असार ८ सोमवार
काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । उनलाई विभागको अनुरोधमा प्रहरीले पक्राउ गरेको हो ।
पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको खुलेको छ । विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको हो । प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले बतायो । पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको उच्च स्रोतले बतायो ।
पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ ।उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ ।
प्रकाशित समय : १८:४७ बजे






















