सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही
वि.सं.२०८३ असार ५ शुक्रवार
काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको अवसरमा आफ्नो नयाँ उत्पादन आइसक्रिम र मही बजारमा ल्याएको छ । कम्पनीले आयातित दुग्धजन्य पेय पदार्थको विकल्प तयार गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ उत्पादन बजारमा ल्याएको हो । कम्पनीका सञ्चालक सुमित केडियाले २०० एमएलको पलाष्टिक बोतलमा मही र १०० एमएल र ५०० एमएलको प्याकमा आईसक्रिम उत्पादन गरी बजारमा ल्याइएको जानकारी दिए ।
कम्पनीले भेनिला, स्ट्रबेरी, चक्लेट र बटर स्पेसल गरी चारवटा स्वादको आइसक्रिम बजारमा ल्याएको हो । ५०० एमएल भेनिला र स्ट्रबेरी आईसक्रिमको मूल्य २१० रुपैयाँ र सोही परिमाणको बटर र चक्लेट आइसक्रिमको मूल्य २४० रुपैयाँ पर्ने उनले बताए । त्यसैगरी १०० एमएलको आइसक्रिमको मूल्य ६५ रुपैयाँ निर्धारण गरिएको छ भने महीको मूल्य ३० रुपैयाँ तोकिएको छ ।
बटर, फ्लेभर्ड मिल्कलगायत दुग्धजन्य उत्पादन ठूलो परिमाणमा विदेशबाट आयात भइरहेका कारण स्वदेशमै गुणस्तरीय उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले उत्पादन विविधीकरण गरिएको बताए । उनका अनुसार कम्पनीले आगामी दिनमा निर्यात बजार विस्तारलाई समेत प्राथमिकतामा राखेको छ । केडियाका अनुसार हाल सीताराम गोकुल मिल्क्सले दूध, घिउ, बटर, दही, पनिर, चीज, आइसक्रिम, फ्लेभर्ड मिल्क र मोही लगायतका दुग्धजन्य उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । सीताराम ब्रान्डप्रति उपभोक्ताको विश्वास बलियो भएकाले गुणस्तरीय, सुलभ र सबैको पहुँचमा पुग्ने उत्पादनमा कम्पनीले विशेष ध्यान दिएको उनले बताए ।
उनले किसानबाट संकलन गरिने दूधलाई अनिवार्य रूपमा प्रयोगशालामा परीक्षण गरेपछि मात्रै खरिद गर्ने व्यवस्था रहेको जानकारी दिए । गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति अपनाइएकाले उत्पादन प्रक्रियालाई विभिन्न चरणमा विभाजन गरी कडा निगरानीका साथ सञ्चालन गरिएको उनको भनाइ छ ।
केडियाले उद्योगले हाल प्रत्यक्ष रूपमा एक सयभन्दा बढी व्यक्तिलाई रोजगारी दिएको र करिब एक लाख किसान परिवारसँग दूध संकलनमार्फत सम्बन्ध जोडिएको जानकारी दिए । उनका अनुसार उद्योग स्थापना गर्दा करिब ४० देखि ५० करोड रुपैयाँ लगानी गरिएको थियो । भूमि, प्लान्ट र उपकरण विस्तारसँगै हाल उद्योगमा कुल लगानी एक अर्बदेखि डेढ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
उनले नेपाली डेरी उद्योगले अझै पनि उत्पादन लागत, प्याकेजिङ सामग्रीमा उच्च भन्सार शुल्क तथा निर्यातमा प्रोत्साहनको अभावजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्दै सरकारले निर्यात सहजीकरण र उद्योगमैत्री नीति ल्याउन आवश्यक रहेको बताए ।
प्रकाशित समय : १६:१० बजे






















