रसुवाका एमाले उम्मेदवार तामाङ भन्छन् ‘घरदैलोमा आएर नै ती सबै प्रश्नको जवाफ दिने छु’
वि.सं.२०८२ माघ १४ बुधवार
काठमाडौं । आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभाका लागि नेकपा एमालेको तर्फबाट रसुवा–१ को उम्मेदवार बनेका प्रेम तामाङले मतदाताहरुसँग आफ्ना एजेण्डासहित मत मागिरहेका छन् ।
२०६४ सालमा संविधानसभाको सदस्य निर्वाचित भएका उनी २०७४ सालमा वागमति प्रदेशसभामा निर्वाचित भएका थिए । गत मसिरको अन्तिम साता काठमाडौंमा भएको पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी रसुवा जिल्ला इन्चार्ज पनि हुन् । उनले अहिलेम्म जनताको पक्षमा गरेको सेवा नै आफूले मत माग्ने प्रमुख आधार भएको बताएका छन् । ‘म सधैं जिल्लामा नै बसेर जनताको काम गर्दै आएको छु, जनताको दुःखलाई म आफ्नै दुःखजस्तो सम्झन्छु र सकेको सहयोग गर्छु’ उनी भन्छन् ‘ यसअघि पनि जनताले पत्याउनुभएको हो, एकपटक पनि विश्वास गरेर मतदान गर्न आग्रह गर्दछु ।’ रसुवामा प्रतिनिधिसभाको एउटैमात्र निर्वाचन क्षेत्र रहेको छ ।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘ पर्दा पछाडिबाट र पर्दा अगडिबाट मेरा विषयमा उठाइएका सबै प्रश्नहरुको उत्तर मसँग छ, म तपाइहरुको घरदैलोमा नै आएर ती प्रश्नहरुको उत्तर दिने छु, म तपाइहरुको काख पोल्टामा हुर्केको मान्छे हुँ र आज पनि तपाइहरुको त्यो न्यानो काख छोडेर कहीँकतै गएको छैन र जाँदिन पनि ।’ उनले आफूलाई चुनाव जितेको र हारेको दुबै अनुभव भएको स्पष्ट पारेका छन् । उनले चुनाव जित्दा पनि नमात्तिएको र हार्दा पनि नआत्तिएको बताएका छन् । रसुवालीको शिर झुकाउने विकृत राजनीतिक संस्कारको अन्त्य गर्दै सुसंस्कृत राजनीतिक संस्कारको विकास गर्ने उनले योजना रहेको छ ।
उनले रसुवावासीलाई एकजुट भएर आफ्नो लक्ष्य पूरा गर्ने अभियानमा सहयोग गर्न पनि आग्रह गरेका छन् । उनले आफूले त्यो क्षेत्रमा जनताको पक्षमा गरेको कामका बारेमा जनतालाई थाहा भइसकेको र कसैले खोजे ती सबै विवरण प्रस्तुत गर्ने पनि बताएका छन् ।
प्रकाशित समय : ११:३२ बजे





















