फागुन २१ को चुनाव नजिकिँदै : मकवानपुर-१ मा युवा नेता सापकोटा र लामाको चर्चा
वि.सं.२०८२ पुस २१ सोमवार
मकवानपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मकवानपुरमा पनि उम्मेदवारको चर्चा सुरू भएको छ भने राजनीतिक दलहरू उम्मेदवार छनोटको प्रक्रियामा छन्।
युवा नेतृत्वमा आउनुपर्ने बहस चलिरहेको बेला नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर १ ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको छ । सिफारिस सूचीमा युवा नेताहरू नारायणप्रसाद सापकोटा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा पनि अटाएका छन् दुवै जना जिल्लामा लामो समयदेखि संगठन निर्माणदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका नेता हुन् ।
सापकोटा मकवानपुर क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बकैया गाउँपालिकाका स्थायी बासिन्दा हुन् । उनी लामो समयदेखि सामाजिक कार्यसँगै पाटी काममा सक्रिय रहँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक बुझ्नसक्ने र स्थानीय भूगोलप्रति राम्रो ज्ञान भएका युवा नेताका रूपमा सापकोटा चिनिन्छन् ।
सापकोटा यसअघि २०७१ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनका लागि पनि एमालेबाट उम्मेदवार सिफारिस भएका थिए । यद्यपि, टिकट नपाए पनि सापकोटाले पार्टी र संगठन निर्माणका कामलाई जारी राखेका छन् । सोही कारणले पनि सापकोटाले यसपटक टिकट पाउनसक्ने सम्भावना बलियो रहेको पार्टीका जिल्ला नेताहरू बताउँछन् ।
यता, उम्मेदवारका लागि सिफारिस भएका अर्का युवा नेता हिदम लामा मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत पर्ने भीमफेदी गाउँपालिकाका अध्यक्ष हुन् । उनी लगातार दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित भई जिल्लामा युवा नेतृत्वका रूपमा स्थापित भएका छन् । लामा एमाले मकवानपुरका उपाध्यक्ष समेत हुन् ।
स्थानीयबासीदेखि पार्टीका जिल्ला नेताकार्यकर्तासम्मले आगामी निर्वाचनमा अनुभवसँगै ऊर्जा भएका युवा नेता उम्मेदवार बन्न आवश्यक रहेको बताउँदै आएका छन् । जेनजी आन्दोलनले पनि युवा नेतृत्वमा आउनुपर्ने र युवाको भावनाअनुसार विकास निर्माणका कामहरू हुनुपर्ने भन्दै आवाजहरू उठिरहेको बेला सापकोटा र लामाजस्ता युवा नेताहरू नेतृत्वमा अगाडि आउनुपर्ने बहस भइरहेको छ ।
प्रकाशित समय : १८:३६ बजे





















