भ्यालेन्टाइन डे प्रेम गर्नेहरुले मनाउने हो : नम्रता श्रेष्ठ
फिल्म ‘रंगी’मा एक बाबा–छोरीको सम्बन्ध एवं माया–प्रेमलाई देखाइएको छ । जीवनका कति धेरै रङहरु हुन्छन् त्यो सबै रङहरुलाई समेटेर ‘रंगी’बनाइएको हो ।
वि.सं.२०८१ माघ २९ मंगलवार
काठमाडौं । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फागुन २ गते प्रदर्शन हुन लागेको हो ।
कुराकानी गर्दै मिस नेपाल एवम अभिनेत्री श्रेष्ठले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले अभिनय गरेको बताइन् । आफूलाई सुहाँउदो भूमिकाको खोजीमा रहेकाले रंगीमा सोचेजस्तै भूमिका मिलेकाले आफूले फिल्ममा अभिनय गरेको बताइन् ।
उनले भनिन्,‘रंगीको स्क्रिप्ट पढ्दा स्कूले जीवन सम्झिंए । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ । म युवावस्थाको छु तर मेरो नेचर बच्चाको जस्तो छ । बच्चाको लागि एउटा आमाको जस्तो भूमिका गर्नुपर्ने भएकाले पनि काम गर्न मन लाग्यो । मिस नेपालपछि धेरै सामाजिक कामहरुमा व्यस्त थिएँ । अब चाँही अभिनयमा प्रवेश गरौं भन्ने सोचेर रंगीमा सहमत भएको हुँ,’ उनले अगाडि भनिन्,‘हुनत मलाई फिल्महरुमा धेरै अफर आएको थिएन् । केहीले प्रस्ताव गरेका थिए । तर म सन्तुष्ट चाँही थिइन । किनभने त्यो एकदमै अनुभव भएका कलाकारले मात्र गर्नसक्ने खालको भूमिका आएको थियो । त्यसैले ति प्रस्तावहरुमा न्याय गर्नसक्छु जस्तो नै लागेको थिएन । त्यही भएकाले फिल्म गरेको थिइन् । त्यसपछि गर्नसक्ने खालको भूमिकाको खोजीमा चाँही थिएँ ।’
फिल्म चलेर या नचलेर भविष्य निर्धारण हुँदैन् तर ‘रंगी’ चल्छ ।
उनले रंगी फिल्ममा गरेको भूमिका सोचेको जस्तै भएको अनुभव सुनाइन् । स्क्रिप्ट एकदमै रमाइलो खालको लागेकाले डेब्यू गरेको उनले बताइन् । साथै उनले पहिलो फिल्म भएकाले डर धेरै नै लागेको बताइन् । उनले पहिलो फिल्म चलेर या नचलेर भविष्य निर्धारित हुने भन्नेमा चाँही विश्वास नगरेपनि चल्यो भने अरु फिल्ममा राम्रो भूमिका पाउन सकिने बताइन् ।
उनले भनिन्, ‘डर र चुनौती त भइहाल्छ । पहिलो फिल्म हो । हुनत पहिलो फिल्म चलेर या नचलेर भविष्य निर्धारित हुने भन्नेमा चाँही म विश्वास गर्दिन् । तर पनि चल्यो भने त राम्रो मेरो लागि पनि राम्रो हुन्छ । निर्माण टिमपनि उत्साहित हुन्छ । म पनि मेकर्सको आँखामा पर्छु होला र आशावादी पनि छु,’ उनले अगाडि भनिन्,‘डर पनि त्यति नै लागिरहेको छ । तर पनि फिल्मको मेकर र डाइरेक्टरप्रति पूरा विश्वास छ । फिल्म राम्रो चल्छ, फिल्म डबिङ गर्ने बेलामा पनि हेर्दाखेरी एउटा राम्रो स्टोरी बनेको रहेछ जस्तो लाग्यो । त्यही भएर पनि उहाँहरुसँग डेव्यू गर्न रोजें र फिल्म सफल हुन्छ भन्नेमा विश्वस्त छु ।’
यसैगरी उनले फिल्म रंगीमा एउटा बाबा छोरीको सम्बन्ध एवम माया–प्रेमलाई देखाइएको बताइन्। उनले रंगीमा जीवनका कति धेरै रङहरु हुन्छन् त्यो सबै रङहरुलाई समेटेर रंङ्गी बनाइएको समेत बताइन् ।
‘रंङ्गी चाँही एउटा बाबा–छोरीको सम्बन्धको कथा हो । साथसाथै जीवनको रङ भनिन्छ नि जीवनका कति धेरै रङहरु हुन्छन् ति सबै रङहरुलाई समेटेर रंङ्गी बनाइएको हो । तीत घण्टा छुट्याएर हल छिर्दा भरपूर रमाइलो हुनेछ । हसाउने, चित्त दुख्ने र आँखामा आँसु पनि देखिनसक्छ,’उनले भनिन्, ‘रंगीलाई ट्रेलरमा पनि देख्नुभएकै होला एउटा बाबा–छोरीको सम्बन्धलाई माया प्रेमलाई देखाइएको छ । एकजना बुबाले गर्नुपरेको संघर्ष देखाइएको छ ।’
नेपाली समाजकै कथा फिल्ममा समेटिएको उल्लेख गर्दै श्रेष्ठले भनिन्,‘यस्तो कथा हाम्रो समाजमा पनि देखिरहेको हुन्छौं । समाजमा घटिरहेको यस्तै घट्नाको सानो भाग हो रंगी । फिल्ममा मेरो क्यारेक्टर एकदमै संघर्षशील, स्वतन्त्र र शिक्षित केटीको रुपमा छ ।’
उनले प्राविधिक दृष्किोणबाट चाँही फिल्म एकदमै राम्रो बनेको बताइन् । ‘फिल्मको कथावस्तु हेर्दा दैनिक जीवनमा घटिरहेको घट्ना पनि हो । बाबा–छोरीको माया र बाबाको इमोसन भन्नेवित्तिकै छुट्टै इम्प्रेसन परेको हुन्छ । बाबाले यो गर्दिनु भएन, त्यो गर्दिनु भएन वा माया देखाउनु भएन् भन्ने हुन्छ तर एउटा बाबाले कस्तो संघर्ष गरिरहनुभएको छ भन्ने कथा यसमा छ,’ उनले भनिन् ।
उनले आगामी दिनमा पनि फिल्म क्षेत्रलाई निरन्तरता दिने सोच रहेको बताएकी छन् । उनले जबसम्म फिल्म क्षेत्रमा राम्रो खालको योगदान दिन सक्दिन तबसम्म अभिनय गरिरहने बताइन् ।
उनले भनिन्, ‘आगामी दिनमा पनि फिल्म क्षेत्रलाई निरन्तरता दिने सोच छ । म एउटै चिजमा धेरै टिकिरहन सक्ने मान्छे चाँही होइन् । त्यसैले नयाँ–नयाँ कुराको अनुभव लिन मन चाँही लाग्छ । जबसम्म फिल्म क्षेत्रमा मेरो राम्रो खालको योगदान हुनेवाला छ र सन्तुष्टि चाँही काम गरेर मिलाउनेछु । त्यसैले यस क्षेत्रमा देखिरहनुहुनेछ । दुबै साइडबाट राम्रो भयो भने चाँही निरन्तरता दिन मन छ ।’
उनले आफ्नो पहिलो फिल्म भएकाले पनि फिल्मको प्रोमोसन नै सबैभन्दा चुनौतीको रुपमा हेरेको बताइन् । ‘फिल्म खेलेर मात्र नहुने रहेछ । प्रमोसनका लागि दौडिरहनुपर्ने रहेछ । दर्शकसामू पुर्याउनुपर्ने वाध्यता छ । यसपाली भगवानले पनि जुराइदिनुभयो र ठ्याक्कै फागुन २ गते प्रेम दिवसका दिन एउटा प्रेमको कथा आउँदैछ,’ उनले भनिन् ।
फिल्म अभिनयको अनुभव सुनाउने क्रममा उनले भ्यालेन्टाइन डे मनाएको स्मरण आफूसँग नरहेको बताइन् । यस दिवसका अवसरमा विभिन्न अफरहरु पनि आउने भएकाले व्यापारी र ग्राहकहरुलाई राम्रो हुने बताइन् ।
‘भ्यालेन्टाइन डे मनाउने भनेको प्रेम गर्ने मान्छेहरुसँग मनाउने भन्ने हो । पार्टनर, श्रीमान–श्रीमती, परिवार सबैसँग मनाउन सकिन्छ । तर यसलाई नराम्रो दृष्टिले मनाउने पनि गरिएको छ । हामीले यसलाई कन्ट्रोल गर्नुपर्छ, व्यालेन्स गर्नुपर्छ,’ उनले भनिन्,‘ पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको सम्बन्ध विच्छेदका घटनाहरुबारे आफू अनभिज्ञ भएको बताइन् । ‘मैंले कसैसँग प्रेम राखेको पनि छैन, विहे पनि भएको छैन् । त्यसैले सम्बन्ध बिच्छेद नि भएको छैन् । त्यहि भएर सम्बन्ध बिच्छेदको प्रसंगमा बोल्ने अधिकार छैन् । किनभने दुईजना मान्छेले सम्बन्ध बिच्छेद गर्ने निर्णय गर्नुहुन्छ । उहाँहरुबीच के कुरा भएको हुन्छ त्यसबारे मलाई बोल्ने अधिकार छैन्,’ उनले भनिन् ।
सम्बन्ध विच्छेदका घट्नाहरु कलाकारिता क्षेत्र भन्दापनि बाहिरी समाजमा धेरै भएको सुनाइन् । ‘बाहिरको समाजमा क्यामेरा लिएर कोही जाँदैन तर कलाकारहरुको बारेमा खोजतलास भइहाल्छ । कलाकारिता क्षेत्रमा पनि बिहे गरेर उदाहरणीय बन्नुभएकाहरु धेरै हुनुहुन्छ । सबैलाई एकै नजरले हेर्नुहुँदैन् । निश्चल दाई (निश्चल बस्नेत)र स्वस्तिमा दिदी(स्वस्तिमा खड्का)को हेर्नुहोस त टिकिरहेकै छ नि । कतिपय ठाउँमा कलाकार भएता पनि सम्बन्धलााई राम्रोसँग लिएर जानुभएको छ,’ उनले भनिन् ।
चारबर्ष अघि आफू मिस नेपालको ताज पहिरिएपछि धेरै फिल्म खेल्ने अवसर आएको सुनाउँदै फिल्मी क्षेत्र भनेको सरकारी जागिरजस्तो नभएकाले गर्नैपर्ने बाध्यता नरहेको बताइन् । ‘मलाई दुईवटा फिल्म मात्र गर्न मन लाग्यो भने पुग्यो भने विश्राम लिन पाउँछु । अबको २० वर्षसम्म पनि यही क्षेत्रमा हुन्छु भन्दापनि पाउँछु,’ उनले भनिन् ।
सुरेश न्यौपाने निर्देशित फिल्ममा नम्रतासहित सलोन बस्नेत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी लगायतको अभिनय छ । बाबुछोरीको भावनात्मक सम्बन्धको कथामा फिल्म आधारित छ ।
नम्रता सन् २०२२ की मिस नेपाल वल्र्ड विजेता हुन् । उनले टेलिभिजनको कमेडी शो ‘कमेडी दरबार’मा होस्टको रुपमा समेत काम गरिसकेकी छिन् । त्यसअघि हिमालय टिभीको गायन रियालिटी शो ‘नेपाल लोकस्टार’को पनि होस्ट गरेकी थिइन् ।
प्रकाशित समय : १७:२२ बजे





















