मेलम्चीको खानेपानी वितरणका लागि थप वितरण सञ्जाल हस्तान्तरण,हालसम्म ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू सञ्चालनमा
वि.सं.२०८० फागुन १ मंगलवार
काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालयले मंगलबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिछ्याइएका खानेपानी वितरणसञ्जालको अन्तिम परीक्षणलाई तीव्रता दिँदै विगत सात महिनाको अवधिमा दोस्रो पटक थप १० वटा वितरण सञ्जालको स्वामित्वहस्तान्तरण गरेको छ ।
खानेपानी मन्त्री महिन्द्र राय यादव प्रमुख अतिथि, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य विशेष अतिथि र खानेपानी मन्त्रालयकासहसचिवहरू अतिथिका रूपमा सहभागी काठमाडौँमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६ औँ वार्षिकोत्सवसमारोहमा थप क्षेत्रका वितरण सञ्जालहरूको स्वामित्व हस्तान्तरण गरिएको हो ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण सञ्जालको करिब २ अर्ब ७ करोड मूल्य बराबरका २७८ किमी खानेपानीवितरण प्रणालीको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरिएको छ ।
यसअघि, गत असारमा बोर्डलाई हस्तान्तरण गरिएका करिब रु. ४० करोड १४ लाख मूल्य बराबरका ७५ किमी खानेपानी वितरणसञ्जालबाट नियमित रूपमा मेलम्चीको पानी वितरण हुँदै आएको छ ।
हालसम्म हस्तान्तरण गरिएका जम्मा १४ वटा वितरण सञ्जालका कूल ३५० किमी खानेपानी वितरण प्रणालीबाट जम्मा २३,००० घरमामिटर जडान भई मेलम्चीको पानी वितरण हुँदै आएको छ ।
काठमाडौँ उपत्यकामा बिच्छ्याइएका कूल १ हजार १० किमी वितरण सञ्जालमध्ये हस्तान्तरण हुन बाँकी रहेको करिब ६६०किमी वितरण सञ्जालको अन्तिम परीक्षण गर्ने कार्य तदारूकताका साथ हुँदै आएको छ ।
ती वितरण सञ्जालहरूको पनि क्रमिक रूपमा परीक्षण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्य आगामी असारसम्म गर्ने गरी कार्ययोजनाकासाथ कार्य भइरहेको आयोजना निर्देशक राजेन्द्र सापकोटाले कर्पोरेट बजार डटकमलाई जानकारी दिए ।
यसैगरी, आयोजनाबाट निर्माण सम्पन्न भई २०७९ साल माघमा बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका कूल रु. ९ अर्ब ६२ करोड मूल्यबराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू हाल सञ्चालनमा रहेका छन् ।
नयाँ वितरण प्रणालीबाट मेलम्चीको खानेपानी वितरण गर्दा उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएकोछ भने चुहावटको समस्या समेत नहुने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : २०:२३ बजे






















