back

मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला

हामी पनि संगठित त भएका छौं तर संख्यात्मक हिसाबले कमजोर भएका कारणले गर्दा पनि होला, पहुँचमा नपुगेर पनि होला समस्याहरु समाधान गर्न सकिएको छैन् ।

हामीले मान्छेको बद्ला मान्छे लेउ भनेका छैनौं, त्यो त असम्भव हुन्छ । तर हाम्रा पिताजीहरुलाई जसले हत्या गर्यो त्यो अपराध गर्ने अपराधीलाई कारबाही गर्नुपर्छ भन्ने मात्र हो ।

करिब ११ बर्ष चलेको द्वन्द्वको घाउ आज दुई दशक वितिसक्दा पनि आलो नै छ । यतिबेला राज्यले द्वन्द्वका घट्नाहरुलाई कस्तो अवस्थामा पुर्याएको छ भने जसलाई पीडा परेको छ उसले मात्रै बोल्नुपर्ने, पीडा नपरेका मान्छेहरु राज्यको संयन्त्रमा पुगेर हालीमुहाली गरिरहेका छन् । ति व्यक्तिहरुले हाम्रो पीडा बुझ्नै नसक्ने अवस्थामा रहेकाले सकेसम्म द्वन्द्वका घट्नाहरु बिर्सिदिए हुन्थ्यो भन्ने अवस्थामा पुर्याएका छन् । त्यस कारण आजका मितिसम्म द्वन्द्व पीडितले न्याय नपाएको अवस्था छ ।

हुनत हामी पनि संगठित त भएका छौं तर संख्यात्मक हिसाबले कमजोर भएका कारणले गर्दा पनि होला, पहुँचमा नपुगेर पनि होला समस्याहरु समाधान गर्न सकिएको छैन् । पहुँचमा पुगेको भए सायद हामीले उठाएका आवाज अझ दरिलो हुन्थ्योहोला । यी कारणले गर्दा पनि राज्यले हामीलाई उपेक्षा गरिरहेको छ । पहिलाको कुरा बिर्सेर सबैजना मिलेर जान पाएको भए झन्झटमुक्त भइन्थ्यो भन्ने अनि यताउता लफडामा किन परिरहनुपरेको भन्ने मनसाय राज्यमा बसेकाहरुको छ ।

उनीहरु आफूचाँही टेवलमा मिल्ने, नेताहरुको आवाज सबै उस्तै हुने अनि उनीहरु दुस्मनी मोल्न नचाहेको कारण द्वन्द्व पीडितले अहिलेसम्म न्याय नपाएको हो भन्ने मेरो बुझाइ छ । यतिबेला पनि सत्य निरुपण एवम मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगलाई पेन्डुलम बनाइएको छ । आयोग बनाउने कुरा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थादेखि लिएर विदेशी व्यक्तिलाई देखाउन वा आँखामा छारो हाल्न मात्रै जस्तो भएको छ । आयोग बनाउने अनि आफ्ना मान्छेलाई जागिर खुवाउने थलोको रुपमा अघि बढाइएको छ ।

आयोगलाई निर्देशन नै यसरी दिएको हुन्छ कि यो भन्दा बाहिर नजाउ, जतिसुकै अनुसन्धान गर्दा जेसुकै देखिएपनि आफ्ना मान्छेलाई जेल हाल्नुपर्नेगरी अथवा कारबाही गर्नुपर्नेगरी अगाडि नजाउ भन्ने हिसाबले निर्देशन भएको छ । घोडाको लगाम लगाएका जस्ता व्यक्ति राखेर आयोग कहिल्यै पनि पूरा हुँदैन् । आयोग बनाउने हो भने स्वतन्त्र व्यक्ति राखेर बनाउनुपर्छ । जसले अन्तर्राष्ट्रिय मानव अधिकारदेखि सबै कुरा बुझेको छ त्यस्ता व्यक्तिहरुलाई जिम्मा दिनुपर्छ ।

आयोगको विश्वसनियमाथि प्रश्न नउठोस् । तर ती व्यक्ति नराखेर सबै पार्टीबाट आएका व्यक्ति राखिन्छ । जसले आफ्नो पार्टीको दुनो सोझ्याउने बाहेक केही काम गर्दैनन् । हामीले प्रधानमन्त्री एवम मन्त्रीहरुलाई पटक पटक भेटेका छौं । उहाँहरुले निकै गम्भीर रुपमा लिने गर्नुहुन्छ । तर द्वन्द्वका जतिपनि घाउहरु छन् ती घाउहरु यत्तिकै मेटिनेवाला छैनन् । वास्तबिक सत्यतथ्य छानविन गर्न, द्वन्द्व पीडितको अवस्था के हो, के कारणले गर्दा हत्या भएको हो त्यसबारे बृहत अध्ययन जरुरी छ ।

यदी गम्भीर मानव अधिकार उल्लङघन प्रकृतिको घट्ना छ भने ती माथि कारबाही हुनुपर्छ। द्वन्द्वको पनि आफ्नो नियम होला जसले द्वन्द्वमा लिएर हिडे तीनिहरुको फरक होला । जो घरमा बसेर नै मारिए तिनीहरुको फरक होला । जो व्यक्ति द्वन्द्वसँग साइनो नै नगाँसिएका थिए, जस्तै हाम्रो पिताजी द्वन्द्वसँग साइनो नै नगाँसिएको व्यक्ति हुनुहुन्थ्यो । उहाँको हत्या भयो । कांग्रेसको एक कार्यकर्ता भएका कारणले उहाँको हत्या हुनु सामान्य कुरा होइन । हामीले लडेर ल्याएको लोकतन्त्रमा त यस्तो पाच्य हुँदैन होला नि । यस्तो गम्भीर प्रकृतिका घट्नामा दोषिमाथि कारबाही हुनैपर्छ ।

हुनत यसबीचमा राज्यका तर्फबाट केही काम त भएको छ । वास्तबिक द्वन्द्व पीडितको सङ्ख्या एकिन गर्ने प्रयास चाँही गरेको छ । तर त्यो भन्दा माथि उठेर केही पनि काम गरेको छैन् । डाटा मात्र संकलन गर्ने काम भएको छ । एकपटक उजुरी हाल्न लगाइयो, उजुरी दिनेकाम भयो । गोप्य उजुरी भनेर छानविन समितिले लियो । तर त्यसलाई दराजमा थन्क्याउने काम मात्र भयो । यसरी हाम्रो आशालाई निराशामा परिणत गरिदिए ।

द्वन्द्व अन्त्य भएको दुई दशक नाघ्यो । हामीले अनुभुत नै गर्नेगरी वा यसबारे बुझेका मन्त्रीहरु फेला पार्न सकेका छैनौं । द्वन्द्वभन्दा पछाडि ०६२–६३ को आन्दोलन भन्दा पछाडि आएका जतिपनि मन्त्री हुनुहुन्छ, कसैले पनि केही गर्नुभएन । एउटा कार्यक्रममा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले ‘अब द्वन्द्वका घाउहरु बिर्सन पर्छ, हात मिलाएर अगाडि बढ्नुपर्छ, जे भयो भयो’ भन्ने अभिव्यक्ति दिनुभयो । उहाँको अभिव्यक्तिपछि कार्यक्रम हलमा होहल्ला भएपछि हल नै छाडेर जानुभयो । गैरजिम्मेवार अभिव्यक्ति दिनेक्रम नेताहरुले गरिरहनुभएको छ ।

यतिबेला साच्चै संसदमा हाम्रो लागि आवाज उठाउने सांसदहरु एकदमै नगन्य संख्यामा हुनुहुन्छ । मैंले सुने र देखे अनुसार डा.शेखर कोइराला र बद्री पाण्डेले चाँही बेला बेला आवाज उठाइरहनुभएको छ । यसबीचमा हामीले पुष्पकलम दाहाल प्रचण्डसँग पनि भेट्यौं, ज्ञापन पत्र बुझयौं । उहाँलाई बोलाएर कार्यक्रम गर्यौं । तर उहाँको पनि उस्तैखाले अभिव्यक्ति आउँथ्यो । ‘द्वन्द्वका घाउहरु कोट्याइरहन हुँदैन्, कोट्याउने भए हाम्रा पनि धेरै कुराहरु छन् भन्नुहुन्थ्यो ।’ त्यसमा हाम्रो जवाफ के हुन्छ भने,‘तपाइँको द्वन्द्व हामीसँग होइन राज्यसँग थियो, सेना पुलिससँग तपाईका जनमुक्ति सेनाले हतियारको युद्ध गर्नुभएको हो ।

तर हामी हतियार नै नबोकेका शान्तिपूर्ण रुपमा घर गाउँमा बसिरहेका व्यक्ति मारिदा तिनले त न्याय पाउनुपर्यो नि ।’ हामीले मान्छेको बद्ला मान्छे लेउ भनेका छैनौं, त्यो त असम्भव हुन्छ । तर हाम्रा पिताजीहरुलाई जसले हत्या गर्यो त्यो अपराध गर्ने अपराधीलाई कारबाही गर्नुपर्छ भन्ने मात्र हो । पिताजी गाउँ बसेको पाच्य ठानेनन् द्वन्द्वका बेला तत्कालिन सिन्धुलीको बासेश्वरमा सरकारको उपस्थिती कम थियो । त्यहाँ माओवादीको द्वन्द्वको अगाडि कुनैपनि राजनीतिक दलका मान्छेले आफू यो दलमा आबद्ध छु भन्ने अवस्था नै थिएन् ।

मेरो बुबा नेपाली काङ्ग्रेसको महासमिति सदस्य हुनुहुन्थ्यो । उहाँ गाउँमै बसेर खेती किसानी गर्ने र समाजसेवा गर्ने गर्नुहुन्थ्यो । सामाजिक र राजनीतिक व्यक्ति भएकाले हाम्रो घरमा परिवारका सदस्यलाई भन्दा बढी नै खाना पाकिरहेको हुन्थ्यो । जो व्यक्ति आएपनि खाना पाकिरहेको हुन्थ्यो। सबैलाई खाना खुवाउने गरेका थियौं । अनि माओवादीका मान्छेहरु पनि आउने बस्ने खाने गर्दथे । बुबासँग राजनीतिक गफहरु गर्ने गर्थे ।

बुबा पञ्चायतकालदेखि नै राजनीतिमा लागेको र समाज परिवर्तनका लागि लडेको मान्छे भएकाले केही कुरा सिक्न एवम अनुभव सुन्न माओवादीका मान्छेहरु घरमा आइरहन्थे । घरमा आइरहने मध्येबाट केही बुबालाई अपहरण शैलीमा लिएर गए र हत्या गरेका हुन् । गाउँमा बुबाको राम्रो प्रभाव रहेको, गाउँमै बसेर सक्रिय भएका कारण उनीहरुले त्यो पचाउन सकेनन् । हामीले त्योबेला सुने अनुसारबुबालाई लिएर जाँदा माओवादी भित्रै पनि विवाद भएको थियो रे । एक पक्ष हत्या गर्न हुदैँन् भन्ने अर्को पक्ष हत्या नै गर्नुपर्छ भन्ने थियो रे । तर पनि उहाँको हत्या अपहरण गरेर लगेको भोलिपल्टै गरिसकेका रहेछन् ।

२०६० साल असोज २६ गते अपहरण गरेर लगेका थिए । २७ गते हत्या गरिसकेका रहेछन् । यो कुरा धेरैपछि मात्र हामीले थाहा पाएका हौं । हुनत अपहरण भनेर लिएर गएका होइनन्, गोप्य कुरा गर्नुछ भनेर गोठ पछाडि लिएर गएका थिए । । कुरा गर्नुछ भनेपछि पहिला पनि आउनेजाने मान्छे भएकाले विश्वास गरेका थियौं । पहिले पहिले कुरा गर्दा पनि यसरी नै गर्ने गरेका थिए । त्यो दिन पनि हामीले त्यस्तै होला भनेर सोचेका थियौं । तर ५ मिनेटसम्म पनि नआएपछि हेर्न जाँदा बुबालाई लिएर गई सकेका रहेछन् ।

लाने बेला राम्रो तरिकाले नै लगेका थिए । लगेर बास बसेको घरको मान्छेले भने मेरो बुबालाई चिन्नुहुन्थ्यो । तर माओवादीका मान्छेलाई भने थाहा थिएन होला । त्यसपछि बुबाको काज किरिया सबै सकेपछि ६ वर्षपछि ति घरका मान्छेले यसरी ल्याएको थिए भनेर सुनाउनु भएको थियो । ६ वर्षसम्म उहाँहरुलाई पनि बोल्न दिएको थिएन् । त्यो बास बसेको घर हाम्रो घरबाट एक घण्टाको पैदल दूरीमा थियो ।

हत्या हुनुभन्दा केही दिन अगाडि हाम्रै घर नजिकका माओवादीका एकजना कार्यकर्तालाई सेनाले लगेर हत्या गरेको थियो । उनीहरुले आरोप त्यही लगाए जबकी त्यो सेनाले हत्या गरेको व्यक्ति एक वर्ष अगाडि जेल पर्दा बुबा आफैं जवानी बसेर छुटाएर ल्याउनु भएको थियो । त्यही व्यक्तिको सेनाले हत्या गर्दा बुबामाथि आरोप लगाए । जबकी त्यो हत्या भएको व्यक्तिको परिवारले पनि त्यो स्वीकार गर्न सक्दैनन् कि बुबाबाट सुराकी भयो ।

हुनत बुबाको हत्याको खबर पनि माओवादीकै कार्यकर्ताले सुनाएका थिए । हत्या भएको १२ दिनपछि पढ्नका लागि काठमाडौं हिड्ने बेलामा, घरमा ममी मात्र भएको बेला राती माओवादीका केही कार्यकर्ताहरु आएर तपाईको श्रमानको हत्या गरिसक्यौं भनेछन् । त्यति भन्नेवित्तिकै ‘लास देउ न त श्रीमानको’ भनेर त्यति बोलेपछि ममी बेहोस हुनुभएछ । लास त हामी दिन सक्दैनौ तर हत्या भइसक्यो भनेर उनीहरु हिडेछन् ।

त्यसपछि हामीले आधिकारिक रुपमा खोजी सुरु गर्यौं । हत्या भएको भए प्रमाण देउ, लास देउभन्दा तिनै माओवादीका कार्यकर्ताहरुले आतंकित गर्न र भगाउनका लागि मात्र त्यस्तो भनिएको हो भन्ने गर्थे । त्यसपछि हामी अलमलमा पर्यौं । हत्या भएको हो की, श्रम शिविरमा राखेर घुमाइ पो रहेका छन् कि जस्तो लाग्यो । मानव अधिकार संगठन, मानव अधिकार आयोगलगायत थुप्रै संस्थाहरुमार्फत दबाब दियौं । त्यती गर्दा पनि उनीहरुले केही जवाफ दिएनन् । जब शान्ति प्रक्रियामा माओवादी आइपुग्यो, त्यसपछि ‘कि हाम्रो बुबा चाहियो, कि हत्या भएको हो भनेर आधिकारिक रुपमा जवाफ चाहियो’ भनेर बुद्धनगरमा रहेको माओवादीको कार्यालयमा निवेदन दिएका थियौं ।

पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिवलाई भेटेर निवेदन दिएपछि उनीहरुले सिडियो कार्यालयमा एउटा जवाफ फर्काए । हाम्रा कार्यकर्ताहरुले ६० साल असोज २६ गते लिएर गएर २७ गते हत्या गरिसकेको रहेछन् भनेर जवाफ आयो । त्यसपछि सिडियोले ममीलाई बोलाएर आधिकारिक रुपमा हत्या भइसकेको भनेर पत्र थमाए । त्यसपछि ०६६ सालमा हामीले काज किरिया गर्यौं ।

माओवादी कार्यकर्ताहरुको मुखबाट अहिले सुन्दा उनीहरुले लिएर गए अनि बुवालाई सुराकी गरेको आरोप स्वीकार गर्न लगाएछन् । बुवाले भन्नुभएछ–बरु मर्न तयार छु तर म आरोप स्वीकार गर्दिन्’ भन्नुभएछ । जुन व्यक्तिलाई असाध्यै माया गर्थें, व्यक्तिको हत्या गर्न कसरी सुराकी गर्न सक्छु,स्वीकार गर्न सक्दिन भनेपछि पिटेर बेहोस बनाएछन् । त्यसपछि गोली हानेर मारेको भन्ने हामीले सुनेका हौं ।

बुबालाई लैजाने बेलामा तीन जना व्यक्ति आएका थिए । अपहरण नै गर्ने थाहा पाएको भए प्रतिकार गर्ने थियौं । तीन जना आइरहने व्यक्ति तीनजना मध्ये मुख्य नाइके एमालेमा प्रवेश गरेका छन् । अर्को एकजनाको सेनाद्वारा हत्या भइसकेको छ भने एकजना व्यक्ति हाम्रै गाँउपालिकाको १ नम्बर वडामा माओवादीबाट अध्यक्ष भएका छन् ।

हामीलाई न्याय मात्र चाहिएको हो द्वन्द्वबाट अभिभावक गुमायौं । सानो उमेरमै टुहुरा भयौं । हामीले यतिबेला मागेको भनेको न्याय मात्र हो । द्वन्द्वको बेलाको पनि द्वन्द्वरत पक्ष र द्वन्द्व नगरेका पक्षहरुको घटना छुट्याउनु पर्यो । घटनाको प्रकृति हेरियोस् । जघन्य अपराध र गम्भीर मानव अधिकार उल्लंघनका घटनाको दोषिलाई कारबाही होस । जुनसुकै पक्ष होस, कानूनी कारबाही गरियोस । यति भयो २२ वर्षपछि भएपनि न्याय पाइयो भन्ने हुन्थ्यो ।

हामी मध्यम बर्गीय परिवारका हौं । बुबाले खेती किसानी गरेर आएको धान, चामल बेचेर हामीलाई पढाउनुभयो । तर उहाँको हत्यापछि आम्दानीको स्रोत टुट्यो । ऋण, धन गरेर हामीले पढ्यौं । तीन सन्तानले स्नाकोत्तर पुरा गरेका छौं । आफ्नो खुट्टामा उभिएपछि ऋण तिरिसकेका छौं । तर हामीले खोजेको न्याय मात्र हो । द्वन्द्वमा पिल्सिएकाहरुको पीडा सबैको उस्तै हो । तर पीडाको प्रकृति फरक छ । माओवादीबाट पीडित भएकाहरुको पीडा सानो होईन् । तर माओवादीबाट पीडित व्यक्तिहरु कि मर्छु कि मार्छु भनेर होमिनुभएको हो ।

हतियार बोकेर हिड्का व्यक्ति हुनुहुन्थ्यो उहाँहरु । उनीहरुले कतिलाई मारे पनि होलान । उनीहरुको भन्दा हाम्रो पीडा फरक हो । हामी न राज्य पक्ष थियौं, न माओवादी पक्ष, हामी त द्वन्द्वमा नमुछिएका व्यक्ति थियौं । द्वन्द्वमा नमुछिएकाहरुको हत्या भनेको अपराध नै हो । हाम्रो बुबालाई किन मारियो जवाफ आजसम्म पाएका छैनौं । यी दुवैलाई प्रकृतिका पीडालाई एकै ठाँउमा जोडेर, एउटै प्रकृतिले हेरियो भने न्याय पाउन मुस्किल छ ।

अलग गरेर हेर्ने हो भने दुवै पक्षले न्याय पाउनुपर्छ । राज्यले इमान्दार र स्वतन्त्र भएर काम गरिदियो भने हामीले न्याय पाउँछौं । (वि.सं.२०६० साल असोजमा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताबाट हत्या गरिएका सिन्धुलीका कांग्रेस नेता बशिष्ठ कोइरालाका छोरा अन्जनी कोइरालासँग  गरेको कुराकानी)

nactional life
Corporatebazar 11 Anniversary

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ: प्राडा दाहाल

शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ: प्राडा दाहाल

वि.सं.२०८३ वैशाख २ बुधवार १०:२०

वर्तमान सरकारले शिक्षालाई राजनीतिभन्दा टाढा राख्नुपर्छ । प्राज्ञिक उन्नयन, बौद्धिक...

चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ

चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ

वि.सं.२०८२ चैत ३० सोमवार ११:०१

मानसिक रोग धेरै कारणले हुने गर्छ । सामाजिक विभेद, राजनीतिक...

नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ

नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ

वि.सं.२०८२ चैत २६ बिहीवार १३:५२

अहिले नेपालमा मात्र नभई विश्वभर नै नसर्ने रोगहरू प्रमुख चुनौती...

सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो

सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो

वि.सं.२०८२ चैत १५ आइतवार १२:१६

काठमाडौं । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल ह्याक हुने घटनामा...

व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे

व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे

वि.सं.२०८२ चैत १४ शनिवार १२:२२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा...

Nepal now has an opportunity to deliver meaningful change: Chhatra Bahadur Bhatta

Nepal now has an opportunity to deliver meaningful change: Chhatra Bahadur Bhatta

वि.सं.२०८२ चैत १४ शनिवार ०९:३३

chhatra Bahadur Bhatta is active in politics and social service...