नागरिक लगानी कोषद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
वि.सं.२०८१ असोज २० आइतवार
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ ।
असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।
उक्त वर्षाको कारण करिब १७ अर्ब रुपैयाँ बराबर नोक्सानी भएको क्षतिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भए पनि क्षतिको विवरण यो भन्दा बढी हुन सक्ने बताइएको छ ।
प्रकाशित समय : ११:२१ बजे






















