नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन
वि.सं.२०८३ भदौ १ सोमवार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना सर्वसम्मतिबाट चयन भएका छन् । भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधित्व गर्दै आएका सञ्चालक चान्दनालाई बैंकको ५४८औँ बैठकले सोमबार अध्यक्ष पदमा चयन गरेको हो ।
नवनियुक्त अध्यक्ष चान्दनाले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
चान्दना हाल एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूह-२ मा मुख्य महाप्रबन्धक पदमा कार्यरत छन् ।
उनले एसबीआईको पूर्वी तथा दक्षिण एसिया, सिङ्गापुर, अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालन र विश्वभर रहेका प्रमुख विदेशी सहायक बैंकहरूको रणनीतिक नेतृत्व सम्हाल्दै आएका छन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कार्यकारी निर्देशकहरू राम पौडेल र दीर्घ बहादुर रावल, निर्देशक शरण कुमार अधिकारीका साथै एसबीआई भारतका उप-प्रबन्ध निर्देशक किशोर कुमार पोलदासको उपस्थिति रहेको थियो ।
त्यसैगरी बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रविण मुनि बज्राचार्य र कम्पनी सचिव खगेश्वर भट्टलगायतका पदाधिकारीहरूको सहभागिता थियो ।
प्रकाशित समय : २२:१५ बजे






















