कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त
वि.सं.२०८३ भदौ १ सोमवार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा नियुक्त गरेको छ। पाँडेले २०८३ साउन २९ गते अर्थात् १४ अगस्ट २०२६ देखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार ग्रहण गरेका छन्।
बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका संस्थामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट Electrical Engineering with Honors मा B-Tech उपाधि हासिल गरेका छन्।
उनसँग बैंकिङ क्षेत्रको योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालनका साथै ट्रेड फाइनान्स र ट्रान्जेक्सन बैंकिङमा गहिरो अनुभव रहेको बैंकले जनाएको छ।
त्यस्तै, मर्जर तथा एक्विजिसन, संस्थागत एकीकरण, वित्तीय विश्लेषण, उत्पादन विकास तथा दिगो एवं हरित बैंकिङलगायतका क्षेत्रमा समेत उनले महत्वपूर्ण अनुभव हासिल गरेका छन्।
नेतृत्व क्षमता र नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिले बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा रणनीतिक लक्ष्य हासिल गर्न थप बल पुग्ने माछापुच्छ्रे बैंकको विश्वास छ।
लामो बैंकिङ अनुभव र वित्तीय क्षेत्रको विविध विशेषज्ञतासहित पाँडेले नायब सीईओको जिम्मेवारी सम्हालेसँगै बैंकको व्यवसायिक रणनीति, डिजिटल रूपान्तरण र ग्राहक सेवामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।
प्रकाशित समय : २०:३७ बजे






















