एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा
वि.सं.२०८३ साउन २७ बुधवार
काठमाडौँ। निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली व्यवसायहरूलाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ। यो स्थानीय रूपमा समर्थित एक एकीकृत प्लेटफर्म हो, जसले डोमेन दर्तादेखि लिएर व्यावसायिक वेब होस्टिङसम्मका सेवाहरू एकै ठाउँबाट उपलब्ध गराउँछ।
नेपालभरिका व्यवसाय, स्टार्टअप, नवउद्यमी, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनहरूलाई डिजिटल रूपान्तरणमा सघाउने उद्देश्यले यो सेवा डिजाइन गरिएको हो। नेपाली व्यवसायहरू तीव्र रूपमा डिजिटल माध्यमतर्फ अघि बढिरहेका बेला देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने भरपर्दो वेब पूर्वाधारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले यो प्लेटफर्म सञ्चालनमा ल्याएको जनाएको छ।
एकीकृत सुविधाहरू र स्थानीय डेटा सुरक्षित
एनसेल बिजनेस क्लाउडसुइट प्लेटफर्म प्रयोग गरी ग्राहकहरूले सजिलैसँग डोमेन दर्ता गर्न, वेबसाइट होस्ट गर्न र आफ्नो सम्पूर्ण अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्छन्। यस प्लेटफर्मभित्र डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन म्यानेजमेन्ट र केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसन जस्ता महत्वपूर्ण सुविधाहरू समावेश गरिएका छन्।
यस सेवाको सबैभन्दा ठूलो विशेषता भनेको नेपालभित्रै डेटा होस्टिङ हुनु हो। यसले ग्राहकहरूलाई आफ्नो वेबसाइट डेटा र सम्पूर्ण डिजिटल सम्पत्ति देशभित्रै राख्ने सुरक्षित वातावरण उपलब्ध गराउँछ। डेटा देशभित्रै रहने भएकाले व्यवसायहरूले आफ्नो डेटामा पूर्ण नियन्त्रण कायम गर्न सक्नेछन् भने स्थानीय नियामक निकायका आवश्यकताहरू पूरा गर्न पनि निकै सहज हुनेछ।
नेपाली मुद्रामै भुक्तानीको व्यवस्था र उपलब्ध प्याकेजहरू
विदेशी मुद्रामा अन्तर्राष्ट्रिय वेब होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता र झन्झटलाई पूर्ण रूपमा अन्त्य गर्दै एनसेलले नेपाली मुद्रामै भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ। व्यवसायको आकार र आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले हाल दुई वटा आकर्षक प्याकेजहरू बजारमा ल्याएको छ:
-
बेसिक प्याकेज: साना तथा नयाँ व्यवसायहरूलाई अनलाइन उपस्थिति जनाउन तयार पारिएको यो प्याकेजको शुल्क मासिक रु. १,००० तोकिएको छ। यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप र आवश्यक सुरक्षा सुविधाहरू समावेश छन्।
-
प्रो प्याकेज: बढ्दो डिजिटल आवश्यकता भएका र ठूला व्यवसायका लागि लक्षित यो प्याकेजको शुल्क मासिक रु. २,००० रहेको छ। यसमा बढी स्टोरेज र डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, ५ वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप र उच्च सुरक्षा सुविधाहरू उपलब्ध गराइएको छ।
डिजिटल यात्राको बलियो आधार
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओका अनुसार एनसेल बिजनेस क्लाउडसुइटको सुरुआत नेपाली व्यवसायहरूलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति निर्माण गर्न मद्दत गर्ने एउटा महत्त्वपूर्ण कदम हो। डोमेन नाम र भरपर्दो वेब होस्टिङ हरेक डिजिटल यात्राको मुख्य आधार भएकोले स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङलाई जोडेर व्यवसायहरूलाई आत्मविश्वासका साथ डिजिटल बन्न सहज बनाइएको उनले बताए। क्लाउडसुइटको यो पहिलो चरणमा डिजिटल क्षेत्रमा प्रवेश गर्ने व्यवसायका मुख्य आवश्यकतालाई ध्यानमा राखी डोमेन र वेब होस्टिङ सेवामा ध्यान केन्द्रित गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित समय : ११:३४ बजे






















