निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना
वि.सं.२०८३ असार २२ सोमवार
काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता यात्रुको खोजी पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन ।
असार २१ गते आइतबार डोल्पा जिल्लामा भएको अर्को घटनामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेहरूलाई उपचारका लागि जुम्ला अस्पतालमा पठाइएको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेताडा क्षेत्रमा असार १८ गते भएको फोर्स गाडी दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए ।
नेपाल न्यूज बैंकसँगको टेलिफोन संवादमा उनले कर्णाली नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको बताए ।
‘नदीको बहाव निकै तीव्र छ । गाडी वा यात्रु अड्किन सक्ने कुनै निश्चित स्थान फेला नपरेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब चारसय मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने पारिवारिक स्रोतका अनुसार अझै पाँच जना बेपत्ता छन् । उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त टोली परिचालित छ । सशस्त्र प्रहरी बलका ६ जना तालिमप्राप्त गोताखोर पनि नदीमा खोजी कार्यमा खटिएका छन् ।
यसैबीच, कर्णाली दुर्घटनापछि बैतडीमा पनि यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए । लगातार भइरहेका सडक दुर्घटनाले वर्षायाममा यात्रा सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको प्रहरी बताए ।
सडक दुर्घटनाका कारणबारे नेपाल न्यूज बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नरेशराज सुवेदीसँग टेलिफोन संवाद गरेको थियो । उनले वर्षायाममा सडक चिप्लिने, पहिरो जाने, सडक भासिने तथा दृश्यता कम हुनेजस्ता कारणले दुर्घटनाको जोखिम उल्लेख्य रूपमा बढ्ने बताए ।
उनले सवारी चालकलाई यात्रा सुरु गर्नुअघि गाडीको ब्रेक, टायर, स्टेयरिङ, लाइटलगायत सम्पूर्ण यान्त्रिक अवस्थाको अनिवार्य परीक्षण गर्न आग्रह गरे ।
‘बर्खायाममा सडक दुर्घटनाको जोखिम धेरै हुन्छ । कतै सडक चिप्लिएको हुन्छ, कतै भासिएको हुन्छ, त कतै पहिरो गएको हुन्छ । त्यसैले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्छ । सवारी साधनको प्राविधिक अवस्था राम्रो छ भन्ने सुनिश्चित गरेर मात्र गाडी चलाउनुपर्छ,’ सुवेदीले भने ।
उनले आवश्यक सावधानी अपनाए वर्षायाममा हुने अधिकांश सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए ।
यस्तो सडक दुर्घटना न्युनिकरण गर्नको लागि संसदमा पनि बेला बेला आवाज उठाइरहेका हुन्छन् । तर सरकार भने तत्काल गर्नुपर्ने कामलाई वेवास्ता गरेको पाइएको छ ।
प्रकाशित समय : १०:३९ बजे






















