back
himalayan life

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस’ मनाइन्छ । यस दिवसले लागूपदार्थको दुरुपयोग, अवैध ओसारपसार तथा त्यसबाट सिर्जित सामाजिक, आर्थिक र स्वास्थ्यजन्य समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्य राख्छ ।

यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा लागूपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाका अभियन्ता ऋषि ओझाले नेपालमा लागूपदार्थको बढ्दो प्रयोग, रोकथामका चुनौती, कानुनी सुधारको आवश्यकता तथा पुनःस्थापनाका उपायबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।

‘जस्ट से नो टु ड्रग’ अभियानका अगुवा

ओझाले आफू विगत पाँच दशकदेखि लागूपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाको क्षेत्रमा सक्रिय रहेको बताए । उनले जापानस्थित विभिन्न शैक्षिक संस्थाबाट लागू पदार्थ तथा मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गरी नेपालमा यस विषयमा औपचारिक रूपमा डिप्लोमा हासिल गर्ने पहिलो व्यक्तिमध्ये एक भएको उल्लेख गरे ।

उनले भने, ‘ म करिब ५० वर्षदेखि लागूपदार्थ र मादक पदार्थ प्रतिकारत्मक शिक्षामा काम गरिरहेको छु । लागूपदार्थ तथा मादक पदार्थ सम्बन्धी टोकियोको जेके युनिभर्सिटी र टोकियो मेट्रोपोलिटन साइक्याट्री रिसर्च इन्स्टिच्युटबाट डिप्लोमा गरेको हुँ । तत्कालिक अवस्थामा यसमा विषयगत डिप्लोमा गर्ने व्यक्ति म नेपालमा पहिलो भएर आएको थिएँ ।’

उनले नेतृत्व गरेको ‘जस्ट से नो टु ड्रग’ अभियान नेपालमा करिब ४० वर्षअघि सुरु भएको थियो । अहिले उक्त अभियानलाई नेपाली भाषामा ‘लागू पदार्थलाई नाइँ भनौँ’ भन्ने सन्देशसहित अघि बढाइएको छ ।

उनका अनुसार अब केवल नारामा सीमित नभई व्यवहार परिवर्तन, परिवार, विद्यालय, समुदाय र राज्यका निकायलाई समेटेर एकीकृत रूपमा लागू पदार्थविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक छ।

बदलिँदो स्वरूप, बढ्दो चुनौती

ओझाका अनुसार विगतमा हेरोइन, ब्राउन सुगर र ह्वाइट सुगरजस्ता लागू पदार्थको प्रयोग बढी हुने गथ्र्यो, जसका असर छिट्टै देखिन्थे । तर अहिले साइकोट्रोपिक (मानसिक प्रभाव पार्ने) औषधिहरूको प्रयोग बढेको छ, जसका लक्षण क्रमशः देखिने भएकाले समस्या पहिचान गर्न कठिन भइरहेको छ ।

उनले जनसंख्या वृद्धि, बेरोजगारी, सामाजिक दबाब तथा फुर्सदिलो समयको सदुपयोग हुन नसक्दा किशोरकिशोरी र युवामा लागू पदार्थ प्रयोगको जोखिम बढिरहेको बताए ।

उनले भने, ‘ पहिले र अहिलेको स्थिति फरक छ । पहिला ब्राउन सुगर अनि ह्वाइट सुगर, हेरोइनहरु डाइरेक्ट प्रयोग हुन्थ्यो । चाँडै लागूपदार्थका प्रयोगकर्ताहरुको लक्षणहरु देखा पर्थे । अहिले साइकोट्रपिक ड्रगहरु धेरै प्रयोग हुन थालेको छ । त्यो साइकोट्रपिक ड्रगहरु प्रयोग गर्दा लक्षणहरु बिस्तारै मात्रै देखिन्छ । एक्कासी देखिँदैन । त्यसैले हिजोको अवस्था भन्दा अहिले बदलिएको छ । देशमा जनसंख्या र बेरोजगारीको संख्या बढेको छ । त्यसैले पहिलेभन्दा अदृश्य रुपमा किशोर–किशोरी र युवामा लागू पदार्थको बढ्दो छ ।’

उनले युवालाई शिक्षा, सीप विकास र खेलकुदजस्ता सकारात्मक गतिविधिमा संलग्न गराउन सके लागू पदार्थको प्रयोग स्वतः घट्ने बताए ।

उनले भने, ‘युवालाई इन्गेज गराउन सकेका छैनांै, बाँकी रहेको समयमा उसलाई खेलकुद वा अन्य गतिविधितिर इन्भल्भ गराउनुपर्छ । त्यसका कारण लागूपदार्थ प्रयोग गर्दैन ।’

खुला सीमा र तस्करीको जोखिम

नेपालमा लागूपदार्थ उत्पादन नहुने भएपनि खुला सीमा नाकाका कारण भारतबाट विभिन्न लागू पदार्थ भित्रिने गरेको ओझाको भनाइ छ । उनका अनुसार नेपाल प्रहरीले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित निगरानी तथा कारबाही गरिरहेको भएपनि खुला सीमाका कारण चुनौती कायमै छ ।

‘लागू पदार्थको समस्या केवल नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो । तर हाम्रो भौगोलिक अवस्था र खुला सीमाले यसलाई अझ जटिल बनाएको छ,’ उनले भने ।

कानुनी सुधारको आवश्यकता

ओझाले लागूऔषध नियन्त्रणसम्बन्धी कानुन समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार वर्तमान कानुन करिब चार दशकअघिको हो । अहिलेको परिस्थितिअनुसार परिमार्जन आवश्यक छ ।

उनले लागूपदार्थ सेवनकर्तालाई अपराधीभन्दा पनि उपचार आवश्यक पर्ने व्यक्तिका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे । यद्यपि, लागूपदार्थको अवैध कारोबार र तस्करीमा संलग्न व्यक्तिमाथि भने कडा कानुनी कारबाही हुनुपर्ने उनको भनाइ छ ।

‘हाम्रो लागूऔषध नियन्त्रणसम्बन्धी ऐन करिब ४०–४५ वर्षअघिको सन्दर्भमा बनेको हो । अहिलेको सामाजिक अवस्था, लागूपदार्थको स्वरूप र चुनौतीहरू परिवर्तन भइसकेका छन् । त्यसैले ऐनलाई समयानुकूल संशोधन गर्न आवश्यक छ ।

लागूपदार्थ सेवन गर्ने व्यक्तिलाई केवल अपराधीका रूपमा होइन, उपचार र पुनःस्थापना आवश्यक पर्ने बिरामीका रूपमा हेर्नुपर्छ । उनीहरूलाई उपचार, परामर्श र पुनःस्थापनाको अवसर प्रदान गरिनुपर्छ । तर लागूपदार्थको अवैध कारोबार, ओसारपसार र तस्करीमा संलग्न व्यक्तिहरूमाथि भने अझ कडा कानुनी कारबाहीको व्यवस्था हुनुपर्छ । कानुन, उपचार र पुनःस्थापनालाई सन्तुलित रूपमा अगाडि बढाउन सके मात्र लागू पदार्थ नियन्त्रण प्रभावकारी हुन सक्छ ।’

सेवनकर्तालाई उपचार र पुनःस्थापनामा केन्द्रित गर्नुपर्ने तथा तस्करमाथि कडा सजायको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।

पुनःस्थापनाको अभाव

नेपालमा सञ्चालन भइरहेका अधिकांश उपचार तथा पुनःस्थापना केन्द्रहरूमा प्रारम्भिक उपचार र डिटक्सिफिकेसनमा बढी ध्यान दिइने भए पनि दीर्घकालीन सामाजिक पुनःएकीकरणका कार्यक्रम पर्याप्त नभएको ओझाको भनाइ छ ।

उनका अनुसार उपचारपछि व्यक्तिलाई सीपमूलक तालिम, रोजगारी तथा सामाजिक पुनःस्थापनासँग जोड्न नसक्दा पुनः लागूपदार्थ प्रयोगमा फर्किने समस्या देखिएको छ ।

‘उपचारपछि समाज र परिवारको सकारात्मक साथ आवश्यक हुन्छ । समाजले ‘लागूपदार्थ प्रयोगकर्ता’ भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्न सके मात्रै पुनःस्थापना सफल हुन सक्छ,’ उनले भने ।

परिवार र विद्यालयको भूमिका महत्त्वपूर्ण

ओझाले लागूपदार्थ नियन्त्रणमा परिवार, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले अभिभावकले आफ्ना सन्तानको दैनिक गतिविधि, साथीभाइको संगत, अध्ययन अवस्था तथा व्यवहारमा आएको परिवर्तनबारे नियमित निगरानी गर्नुपर्ने बताए ।

त्यस्तै शिक्षकहरूलाई पनि विद्यार्थीको व्यवहारिक परिवर्तन पहिचान गर्ने तालिम आवश्यक रहेको उनको धारणा छ ।

‘साथीभाइको दबाब, सामाजिक सञ्जालको प्रभाव र फुर्सदिलो समयको गलत प्रयोगले धेरै युवा लागूपदार्थतर्फ आकर्षित भइरहेका छन्, लागूपदार्थ नियन्त्रणमा परिवार, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्वपूर्ण छ । अभिभावकले आफ्ना सन्तानको दैनिक गतिविधि, साथीभाइको संगत, अध्ययन अवस्था तथा व्यवहारमा आएको परिवर्तनबारे नियमित निगरानी गर्नुपर्छ,’ उनले भने ।

जनचेतना र व्यवहारिक शिक्षा आवश्यक

ओझाले लागूपदार्थ सेवन नगर्नू भन्ने सन्देश मात्र पर्याप्त नभएको बताए । उनका अनुसार लागूपदार्थ सेवन गर्दा शारीरिक, मानसिक, बौद्धिक, पारिवारिक, सामाजिक तथा आर्थिक रूपमा पर्ने असरबारे व्यवहारिक शिक्षा दिन आवश्यक छ ।

उनले कानुनी साक्षरताको महत्वसमेत औँल्याउँदै युवाहरूलाई लागूपदार्थ सेवन र कारोबारका कानुनी परिणामबारे जानकारी गराउनुपर्ने बताए ।

उनले भने, ‘लागूपदार्थ नखाऊ भन्ने सन्देश मात्र दिएर पुग्दैन । युवाहरूलाई लागूपदार्थ सेवन गर्दा शरीर, मानसिक स्वास्थ्य, बौद्धिक क्षमता, परिवार, समाज र आर्थिक अवस्थामाथि कस्तो असर पर्छ भन्ने विषयमा व्यवहारिक र तथ्यमा आधारित शिक्षा दिन आवश्यक छ । साथै, लागूपदार्थ सेवन वा यसको कारोबारमा संलग्न हुँदा कानुनी रूपमा के–कस्ता परिणाम भोग्नुपर्छ भन्ने जानकारी पनि युवाहरूलाई दिनुपर्छ । जब उनीहरूले यसको स्वास्थ्य, सामाजिक र कानुनी प्रभावबारे स्पष्ट रूपमा बुझ्छन्, तब मात्र लागूपदार्थबाट टाढा रहने चेतना र जिम्मेवारी विकास हुन्छ ।’

लागूपदार्थमुक्त समाज निर्माणको आह्वान

ओझाले लागूपदार्थमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय तह, विद्यालय, अभिभावक, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

‘लागूपदार्थ सेवन नगर्ने, स्वस्थ जीवनशैली अपनाउने र सकारात्मक गतिविधिमा सहभागी हुने संस्कार विकास गर्न सके मात्र हामी लागूपदार्थमुक्त समाजतर्फ अघि बढ्न सक्छौँ,’ उनले भने ।

उनले नीति निर्माणदेखि समुदायस्तरसम्म समन्वित प्रयास भए मात्र स्वस्थ, सक्षम र जिम्मेवार युवा पुस्ता निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०५

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि...

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

वि.सं.२०८३ असार ४ बिहीवार १०:४८

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सरकारले...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व...

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:३९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव...

बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं : हान अध्यक्ष शाह 

बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं : हान अध्यक्ष शाह 

वि.सं.२०८३ जेठ २० बुधवार १०:२३

लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र...

बजेटको भाषामा कृषि प्राथमिकतामा, तर व्यवहारमा किसान भित्तामा : उद्धव अधिकारी

बजेटको भाषामा कृषि प्राथमिकतामा, तर व्यवहारमा किसान भित्तामा : उद्धव अधिकारी

वि.सं.२०८३ जेठ १७ आइतवार १२:४७

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषिलाई ‘शीर्ष प्राथमिकता’...