धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग
वि.सं.२०८३ भदौ २ मंगलवार
काठमाडौं । पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नै समूहको भेलामार्फत आफू हिन्दू र सनातन धर्मको पहिचानको पक्षमा रहेको स्पष्ट पारिसकेका छन्। जेन जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका बीच पाँच पटक सरकारको नेतृत्व गरिसकेका देउवाले एकाएक धर्म र पहिचानको मुद्दा उठाउनुलाई विश्लेषकहरूले धार्मिक मनोभाव (हिन्दू लबी) लाई उपयोग गरेर राजनीतिक लाभ लिने रणनीतिक प्रयासका रूपमा व्याख्या गरेका छन्।
देउवा समूहको आइतबार सम्पन्न भेलाले विक्रम संवत् २०३३ मा वीपी कोइरालाले निर्वासनबाट फर्कँदा अङ्गीकार गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिको स्मरण गर्दै ‘राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिहरू’सँग बृहत्तर संवाद अघि बढाउने प्रस्ताव पारित गरेको छ। उक्त भेलाले पारित गरेको प्रस्तावमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै सनातनदेखि चलिआएको हिन्दू, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वसहित सनातन धर्मलाई राष्ट्रको मूल पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ।
देउवाको यस कदमलाई लिएर राजनीतिक तथा बौद्धिक वृत्तमा फरक-फरक विश्लेषण हुन थालेको छ। राजनीतिशास्त्री लोकराज बराल देउवाको पछिल्लो अभिव्यक्तिलाई पार्टीको सैद्धान्तिक धरातलभन्दा बाहिरको ‘प्रतिगमन’ र सस्तो रणनीति मान्छन्। जनमतसङ्ग्रहका बखत वीपी कोइरालाले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नु धोका हुने बताएको प्रसङ्ग उल्लेख गर्दै बरालले देउवा पक्षको यो निर्णयले पार्टीलाई कुनै फाइदा नपुर्याउने र यसको औचित्य नरहेको तर्क गरे। भारतको सत्तासीन दल र स्वदेशभित्रको हिन्दू लबीलाई खुसी पारेर समर्थन जुटाउने दाउ भए पनि संवैधानिक राजसंस्था फर्काउने वा धार्मिक कार्ड खेल्ने कुराले राजनीतिक भविष्य सुरक्षित नहुने उनको ठहर छ। विशेष महाधिवेशनबाट गगन थापा पार्टीको शीर्ष नेतृत्वमा पुगेपछि विस्थापित बनेको देउवा पक्षले पार्टीभित्र ‘असली कांग्रेस’ आफूहरू नै भएको प्रमाणित गर्न र आम जनताको भावनासँग जोडिन हिन्दूत्व र सनातन धर्मको शरण लिएको घिमिरेको विश्लेषण छ। उनका अनुसार भेलाले अपनाएको मेलमिलापको नीतिले भविष्यमा पूर्वराजा तथा राजावादी शक्तिहरूसँग समेत संवादको सम्भावनालाई घुमाउरो पाराले खुला राखेको छ।
पार्टीभित्रै लामो समयदेखि हिन्दूराष्ट्रको पैरवी गर्दै आएका नेता शङ्कर भण्डारी भने देउवाको पछिल्लो अडानलाई बाध्यता नभई सान्दर्भिक आत्मानुभूतिका रूपमा लिन्छन्। सनातन धर्मलाई स्वीकार नगर्दा र राष्ट्रिय एकताको धरोहरका रूपमा राजसंस्थालाई स्थान नदिँदा समाज र राजनीति विखण्डित बनेको भन्दै उनले देउवाको नयाँ दृष्टिकोणले पार्टी एकता र देशको आवश्यकतालाई सही दिशा दिने दाबी गरेका छन्। स्वदेश फर्किएलगत्तै सक्रिय भएका देउवाले धर्म, पहिचान र बृहत्तर मेलमिलापको कार्ड फालेर नेपाली कांग्रेसभित्र र राष्ट्रिय राजनीतिमा आफ्नो हराउँदै गएको प्रभाव पुनःस्थापित गर्ने प्रयास गरेको प्रस्ट हुन्छ।
प्रकाशित समय : ११:०५ बजे






















