हिमालयन डिष्टिलरीको नाफा १२ प्रतिशतले बढ्यो
वि.सं.२०७८ कात्तिक २८ आइतवार
काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनीक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा १२.७० प्रतिशत बढेको हो । नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । कम्पनीको पूँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसकेपछि इपिएसमा ३२.२३ रुपैयाँको गिरावट आएको हो ।
अघिल्लो आवको चुक्ता पूँजीको ५० प्रतिशतले पूँजी वृद्धि गरेको कम्पनीको नाफा सोही अनुपातमा बढ्न नसकेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९७.४० रुपैयाँमा झरेको छ । अघिल्लो आवको प्रथम त्रैमासमा कम्पनीको वार्षिक इपिएस १२९.६३ रुपैयाँ रहेकोे थियो ।
हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी २६.९३ प्रतिशत बढेर १ अर्ब २३ करोड १० लाख ६० हजार पुगेको छ । यस्तै सञ्चालन मुनाफा ११.९८ प्रतिशत बढेको छ। कम्पनीले २९ करोड ६५ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको चुक्ता पूँजी ८६ करोड ७७ लाख २ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ५६.२७ प्रतिशत बढेर १ अर्ब ३४ करोड ८१ लाख ७४ हजार पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २५५.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७०.८३ गुणा छ ।
प्रकाशित समय : ११:०३ बजे