रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?
वि.सं.२०८३ साउन २९ शुक्रवार
काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा सामान्य सुधार देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २.१८ प्रतिशतले बढेर ५८ करोड २६ लाख रुपैयाँ पुगेको छ।
खुद नाफामा सुस्त वृद्धि देखिए पनि कम्पनीको मुख्य व्यवसाय अर्थात् खुद बीमा शुल्क (नेट प्रिमियम) आर्जनमा भने २५.५६ प्रतिशतको आकर्षक वृद्धि भएको छ। यस वृद्धिसँगै कम्पनीको खुद बीमा शुल्क ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी पनि १४.८६ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ८४ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी भने ३.४८ प्रतिशतले मात्र बढेर १ अर्ब ४८ करोड ९० लाख रुपैयाँ पुगेको छ, जसले दाबी भुक्तानीमा कम्पनीमाथि ठूलो चाप नपरेको देखाउँछ। यता, कम्पनीको कुल खर्च भने १६.८४ प्रतिशतले बढेर ७ अर्ब २६ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३२.१४ प्रतिशतको उल्लेखनीय उछाल आएको छ। यस वृद्धिसँगै बीमा कोषको आकार १७ अर्ब ९३ करोड ९४ लाख रुपैयाँको मजबुत अवस्थामा पुगेको छ। तर, कम्पनीको सञ्चित मुनाफा (Retained Earnings) भने ८.४० प्रतिशतले घटेर ८१ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ।
खुद नाफामा आएको सामान्य सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) बढेर ११.२१ रुपैयाँ कायम भएको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले कुल २६ लाख ५ हजार ८४३ वटा बीमालेख जारी गरेको छ।
प्रकाशित समय : १०:३६ बजे






















