सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ
वि.सं.२०८३ साउन २९ शुक्रवार
काठमाडाैं । गत आर्थिक वर्षमा सिटिजन लाइफ इन्स्योरेन्सले ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६३ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले १८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। शतप्रतिशत भन्दा बढीको यो वृद्धिलाई कम्पनीको नाफामा देखिएको आकर्षक छलाङ मान्न सकिन्छ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क (नेट प्रिमियम) आर्जन २५.८७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन बढेर ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी २१.५९ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ९ अर्ब १९ करोड ८७ लाख रुपैयाँ रहेको थियो।
आम्दानीसँगै कम्पनीको दाबी भुक्तानी र खर्चमा पनि स्वाभाविक वृद्धि भएको छ। अघिल्लो वर्ष ६ अर्ब ९८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिमा २७.६९ प्रतिशतले बढाएर ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ। यस अवधिमा कम्पनीको कुल खर्च २४.८० प्रतिशतले बढेर १० अर्ब ७९ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। खुद नाफामा लोभलाग्दो वृद्धि देखिए पनि कम्पनीको सञ्चित मुनाफा (Retained Earnings) भने ५६.६९ प्रतिशतले घटेर ४९ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो कोषमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ रहेको थियो।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) मा पनि राम्रो सुधार आएको छ। अघिल्लो वर्ष ३.७८ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा बढेर ७.८२ रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.९२ रुपैयाँबाट बढेर १३१.६० रुपैयाँ कायम भएको छ।
प्रकाशित समय : १०:१८ बजे






















