प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
वि.सं.२०८३ साउन १३ बुधवार
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाडौँबाट नियन्त्रणमा लिएको हो।
कर्जा प्रवाहमा गम्भीर अनियमितता गरेको देखिएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। पक्राउ लगत्तै सीआईबीले थप अनुसन्धानका लागि म्याद लिन उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराएको छ।
रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जा प्रक्रियामा अनियमितता भएको विषयमा पन्तमाथि छानबिन भइरहेको छ। सोही प्रकरणको अनुसन्धानका क्रममा उक्त रिसोर्टका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै पक्राउ परी सीआईबीको हिरासतमा रहेका छन्।
प्रभु बैंकले एशियन भिलेज रिसोर्टलाई ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार पारेको विशेष स्थलगत निरीक्षण रिपोर्टका आधारमा उक्त कर्जा प्रवाहमा ठूलो वित्तीय अनियमितता भएको खुलासा भएको सीआईबी स्रोतले जनाएको छ।
प्रकाशित समय : १९:१८ बजे





















