काठमाडौं । सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा दोहोरो अंकमा वृद्धि भएको छ। लगानीकर्ताहरुले एक वर्षको अवधिमा थप ३३ अर्ब रुपैयाँ सेयर धितो कर्जा लिएका छन् ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा आइपुग्दा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले कुल १ खर्ब ४६ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । यो गत वर्षको तुलनामा २९.२५ प्रतिशत धेरै हो । जबकि, गत आवको सोही अवधिमा बैंक तथा वित्त कम्पनीहरुले १ खर्ब १३ अर्ब ६ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
अधिकांशले सेयर धितो कर्जा बढाएका छन् । दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताहरूको संख्या बढेसँगै बैंक र वित्तीय संस्थाबाट सेयर धितो कर्जा प्रवाहमा वृद्धि भएको छ ।
सेयर कर्जा प्रवाहमा आक्रामक वाणिज्य बैंक, लगानीकर्ताले लिए सवा खर्ब ऋण
सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंकहरु आक्रामक देखिएका छन् । एक वर्षको अवधिमा यस्तो कर्जा ३५.३३ प्रतिशत बढेको देखिन्छ । गत आवको कात्तिक मसान्तसम्म बैंकहरुले ९१ अर्ब २१ करोड १४ लाख रुपैयाँ प्रवाह गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा १ खर्ब २३ अर्ब ४३ करोड २१ लाख रुपैयाँ प्रवाह गरेका छन् । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले थप ३२ अर्ब २२ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
एनआइसी एशिया र नेपाल बैंक बाहेकका सबै बैंकहरुले सेयर धितो कर्जा प्रवाह बढाएका छन् । समिक्षा अवधिमा एनआइसी एशियाको यस्तो कर्जा ७०.२६ प्रतिशत र नेपाल बैंकको ७.०४ प्रतिशत घटेको छ ।
राष्ट्र बैंकका अनुसार लगानीकर्ताले सबैभन्दा ठुलो आकारमा नबिल र ग्लोबल आइएमई बैंकबाट कर्जा लिएको देखिन्छ । समिक्षा अवधिमा नबिल बैंकबाट १५ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको छ । यो गत वर्षको तुलनामा ४३.१७ प्रतिशत बढी हो । यता, ग्लोबल आइएमई बैंकबाट पनि लगानीकर्ता १३ अर्ब १९ करोड ७३ लाख रुपैयाँ बराबर सेयर कर्जा लिएका छन् ।
यस्तै, कात्तिक मसान्तसम्म आइपुग्दा कुमारी बैंकले ९ अर्ब ९८ करोड ७६ लाख, प्राइमले ९ अर्ब ८७ करोड ७७ लाख, सिद्धार्थले ८ अर्ब ८७ करोड १४ लाख, लक्ष्मी सनराइजले ८ अर्ब २७ करोड ६८ लाख, राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब २० करोड २७ लाख, प्रभूले ६ अर्ब ६८ करोड ७८ लाख, सिटिजन्सले ६ अर्ब ३६ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन् ।
सेयर धितो कर्जा बढाउने मामलामा भने माछापुच्छ्रे र कृषि विकास बैंक शीर्ष सूचीमा छन् । समिक्षा अवधिमा यी दुई बैंकको यस्तो कर्जा क्रमश: ३०१.२१ प्रतिशत र २४१.०१ प्रतिशत वृद्धि भएको छ । यता, एनएमि बैंकको पनि ८१.४३ प्रतिशत, सानिमाको ७७.४० प्रतिशत, एभरेष्टको ६१.४७ प्रतिशत, हिमालयनको ५९.८५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको २३.९५ प्रतिशत र नेपाल एसबिआईको १२.२२ प्रतिशत वृद्धि भएको छ ।

विकासबाट झन्डै १९ अर्बको सेयर धितो कर्जा, कसले कति दिए ?
विकास बैंकबाट भने लगानीकर्ताहरुले १८ अर्ब ८८ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कर्जा लिएका छन् । विकास बैंकहरुबाट प्रवाह हुने यस्तो कर्जा ७.१२ प्रतिशत वृद्धि भएको छ ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ३ अर्ब ८० करोड २० लाख रुपैयाँ दिएको छ । यता, गरिमा विकासले २ अर्ब ५४ करोड ७२ लाख, शाइन रेसुङगा डेभलपमेन्टले २ अर्ब १७ करोड ७३ लाख र लुम्बिनी विकासले २ अर्ब १ करोड १६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
यस्तै, महालक्ष्मी विकासले पनि १ अर्ब ९८ करोड, कामना सेवाले १ अर्ब ८३ करोड, ज्योति विकासले १ अर्ब ७५ करोड, सांग्रिलाले १ अर्ब ६४ करोड, एक्सेलले ४६ करोड २६ लाख, मितेरी डेभलपमेन्टले २६ करोड ५३ लाख, ग्रीन डेभलपमेन्टले १८ करोड, सप्तकोशीले १३ करोड ९५ लाख र सिन्धु विकासले ८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कर्जा दिएका छन् ।

फाइनान्सबाट सेयर कर्जा लिने घटे, कुनबाट कति प्रवाह ?
तर, फाइनान्स कम्पनीबाट सेयर धितो कर्जा लिने लगानीकर्ता घटेको देखिन्छ । गत वर्षको तुलनामा यस्तो कर्जा १३.०५ प्रतिशत घटेर ३ अर्ब ८२ करोड २९ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत वर्षको सोही अवधिमा फाइनान्सहरुले ४ अर्ब २३ करोड २७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।





















