दशैका लागि भोलीदेखि नै ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन हुने

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौँ । भोली अर्थात असोज १ गते देखि सुपथ मुल्य पसल सञ्चालनमा आउने भएका छन् । चाडवाडको अवसरमा हरेक वर्ष सरकारले आम उपभोक्तालाई लक्षित गरी सुपथ पसल खुलाउँदै आएजस्तै असोज १ देखि कात्तिक २४ गतेसम्म ३९ जिल्लाको ४३ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्न लागेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले असोज भोलीबाट ३९ जिल्लाको ४३ स्थानमा दशै तिहारलाई लक्षित गदै सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको बताएका हुन् । हरेक वर्ष झै चाडपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालन गर्ने उनले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकाका अनुसार उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी र सल्लाघारी लगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । भने उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने छ ।
सुपथ मुल्य पसल बिहान १० बजेबाट बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछन् । पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रूपियाँ छुट गरिएको छ । त्यस्तै भटमासको तेल, मासु र कर्णाली सिमीमा दश रुपियाँ छुट हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
हरेक वर्ष दशैं तिहार तथा छठको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका साथै साल्ट ट्रेडिङ कर्पोरेसन, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थापनले पनि विभिन्न ठाउँहरुमा सुपथ मूल्य पसल सञ्चालन गदै आएका छन ।
२०७८ भदौ ३१ गते प्रकाशित

प्रकाशित समय : १५:४१ बजे