राजस्व सचिव कर्णले लिए सञ्चय कोष सञ्चालक समिति अध्यक्षको सपथ

वि.सं.२०७८ भदौ २२ मंगलवार

काठमाडौँ । कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ ग्रहण गराएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन पनि गरेका हुन् । ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने, ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’
यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए । उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।
२०७८ भदौ २२ गते प्रकाशित

प्रकाशित समय : १०:५६ बजे