back

एमाले फुटेको कि चोइटिएको ?

काठमाडौं । डेढ वर्ष लामो अन्तरसंघर्षपछि अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी एकताका लागि प्रयासहरु भए पनि अध्यक्ष केपी ओलीसँग कुनै हालतमा मिल्न नसक्ने भन्दै माधव कुमार नेपालले पार्टी नै फुटाए ।

सरकारको सहयोगमा उनले २० प्रतिशत संख्या पुर्याउँदै नयाँ दल नै दर्ता गरे । उनले नयाँ दल दर्ता गरी पार्टीका कामकारबाही अघि बढाएका छन् । तै पनि एर्काबीच आरोप प्रत्यारोपको श्रृंखला भने रोकिएकोे छैन ।

यसको बीउ डेढ वर्ष अघि नै रोपिएको थियो । जतिबेला तत्कालीन नेकपाभित्र विद्रोह गर्दै आफ्नै पार्टीको सरकार ढाल्न माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड उद्यत भए ।

प्रचण्डले ओलीसँग आधा आधा शासन सत्ता चलाउने गरेको सम्झौता कार्यान्वयनका लागि ओलीलाई दवाव दिए । त्यसमा प्रचण्डले माधव नेपाललाई साथ लिए । उसै पनि माधव नेपाललाई महाधिवेशनमा आफ्नो हारसँगै पार्टीका जिम्मेवार तहमा र चुनावमा आफ्ना पक्षका नेताहरुलाई टिकट नदिएको झोँक छँदैथियो ।

यता अध्यक्ष ओलीले पनि आफ्ना विरोध तह लगाउँदै जान थाले । फलस्वरुप बृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने भन्दै एकता गरिएको माओवादी र एमालेभित्र छुट्टाछुट्टै धारहरु निर्माण भए । कुनै पनि हालतमा ओलीलाई सत्ताबाट च्यूत गराउने प्रचण्ड–नेपालको योजना तिव्र भएपछि ओली सशंकित बने ।

संसद्बाटै आफूलाई सिध्याउन छनक पाइसकेका ओलीले पुस ५ गते संसद् नै विघटन गरिदिए । भित्रभित्रै रहेको नेकपाको विवाद त्यसपछि सडकसम्म पुग्यो । आफ्नै पार्टीबाट सत्ता ढल्ने निश्चित देखेपछि ओलीले संसद् विघटन गरेका थिए । त्यसपछि भने उनले कम्तिमा पनि एमालेबाट भने साथ रहन्छ भन्ने आश गरे ।

तर, नेपाल प्रचण्डसँगै मिलेर ओलीविरुद्ध सडक संघर्षमा उत्रिए । तत्कालीन नेकपाको साधारण सदस्यबाटै ओलीलाई निकालेको घोषणा गरे । त्यसपछि सुरुभयो नेकपाभित्र एक अर्काभित्र कारबाहीको श्रृंखला ।

गत फागुन २३ गते सर्वोच्चले नेकपा नै विभाजन गरेपछि भने साविकका एमाले र माओवादी अलग भए । त्यसपछि गठबन्धनबाट अलग भएर माधव नेपालले एमालेमै रहेको घोषणा गरे । तर, सहजै नेपाललाई बस्न दिने मनस्थितिमा ओली थिएनन् । आफूविरुद्ध विपक्षीसँग मिलेर सडकमा तथानाम गालीगलौज र जसरी पनि शक्तिबाट च्यूत गर्ने भन्दै हिँडेका नेपालमाथि ओलीले कारबाही नै चलाए । त्यसमा अहिलेका दोस्रो धार भनिएका नेताहरु पनि परे ।

ओलीले फेरि संसद् विघटन गर्दै संसद्को ठूलो दलको हैसियतले प्रधानमन्त्रीको नियुक्ति लिए । त्यसपछि फेरि तत्कालीन विपक्षी गठबन्धन सर्वोच्चमा पुगे । त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले संसद्बाट एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । सोही अनुसार उनले विश्वासको मत मागे । तर, माधव नेपालहरुकै कारण उनले विश्वासको मत पाएनन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रश्ताव गर्दै माधव नेपाल, प्रचण्ड, कांग्रेस र जसपाको उपेन्द्र यादव समूह १४९ सांसद्को हस्ताक्षरसहित सर्वोच्च पुग्यो ।

अन्ततः सर्वोच्चले पनि विश्वासको मत लिने क्रममा सांसदबाट दलको ह्वीप नलाग्ने भन्दै मतदानका लागि स्वतन्त्र भएको व्याख्या गर्दै हस्ताक्षरका आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्यो ।

उसै त एमालेभित्र किचलो छँदैथियो । त्यसमाथि सत्ता परिवर्तनमा माधव नेपालकै मूख्य भूमिका भएपछि ओलीले स्वीकार्ने कुरै भएन । कुनै पनि हालतमा माधव नेपाललाई एमालेमा ठाउँ नभएको घोषणा ओलीले गरे ।

यता सत्तारोहणमा सघाएका माधव नेपालको चित्त सरकारले बुझाउनुथियो । अहिलेसम्म पनि सोही कारण मन्त्रिमण्डलले पूर्णता पनि पाएको छैन । नेपाललाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डललाई पूर्णता दिन सरकारले अध्यादेश जारी गर्यो । सत्तारुणका नेताहरुले जुन व्याख्या गरे पनि अध्यादेको मुख्य उद्देश्य एमाले फुटाउनु नै थियो । अध्यादेशको असर जसपामा पनि पर्यो । नेपाल र जसपाका महन्थ ठाकुरलाई सहज हुनेगरी सरकारले २० प्रतिशत सांसद र केन्द्रीय सदस्य भए पार्टी फुटाउने मिल्ने गरी अध्यादेश ल्यायो । चालू अधिवेशन अन्त्य गरी ल्याइएको अध्यादेशविरुद्ध सर्वोच्चमा मुद्दा पनि परेको छ । तर, कुनै हालतमा सर्वोच्चले अध्यादेश खारेज गर्न अन्तरिम आदेश दिए पनि अब माधव नेपालको नेकपा एकीकृत समाजवादीले कानुनी मान्यता पाइसकेकाले कुनै असर पर्नेछैन ।

अहिले नेकपा एमालेको विभाजनलाई कसैले चोइटिएको रुपमा विश्लेष गर्दछन् त कसैले फुटको संज्ञा दिन्छन् । माधव नेपालको ओझ र वरियतालाई हेर्ने हो भने फुटेको मान्न सकिन्छ । तर, नेपालको साथमा भएका नेता र संख्या हेर्दा भने फुटेको नभई चोयटिएको देखिन्छ ।

राजीनितिक विश्लेषकहरुका अनुसार जुन आशा र अपेक्षाका साथ माधव नेपालले एमाले विभाजन गरी दल दर्ता गरे सोही अनुसार नेता कार्यकर्ताका साथ भने पाउन सकेनन् । दोस्रो धारका भनिएका नेताहरुसँगै उनको बढी अपेक्षा थियो । किनकी हिजो केपी ओली प्रवृत्तिविरुद्ध सडक संघर्षमा हुँदा उनीहरुले नै नेपाललाई सघाएका थिए ।

तर, निर्णायक घडीमा भने उनीहरुले साथ दिन सकेनन् । भीम रावल, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भण्टराई लगायतका नेताहरुले कुनै एक व्यक्तिका कारण लामो कम्युनिष्ट आन्दोलनको विरासत बोकेको र जनतामा प्रख्यात पार्टी छाड्नु आफ्नै घुँडामा आफैं बन्चरो प्रहार गर्नुजस्तै बुझे । र उनीहरु एमालेमै बसे । नयाँ दल दर्तापछि पनि माधव नेपालको पार्टीबाट २० जना केन्द्रीय सदस्य एमालेमै फर्किसकेका छन् ।

एमाले विभाजनलाई दुवै तर्फका नेताहरुले आ–आफ्नै तरिकाले विश्लेषण गर्ने गरेका छन् । एमालेका नेताहरुलाई माधव नेपाललाई पद र शक्तिको लालचमा पार्टी फुटाएको आरोप लगाउँछन् भने, नेकपा (एस) का नेता कार्यकर्ता भने परिस्थिति नै त्यस्तो उत्पन्न भएपछि पार्टी विभाजन गर्न बाध्य भएको बताउँछन् ।

पार्टीभित्र केपी ओलीको निरंकुश चरित्र हावी हुँदै संविधान नै सिध्याउने अवस्था आएकाले विद्रोह गर्नुपरेको बताउँछिन् नेकपा एकीकृत समाजवादीकी सांसद निरादेवी जैरु(परियार) । ‘हाम्रो कुनै रहर या पदलोभ थिएन । पार्टीलाई विधिविधान अनुसार अघि लैजाउँ भन्ने नै थियो,’ उनी भन्छिन्, ‘तर, केपी ओलीलाई त्यो कदापी स्वीकार भएन । उहाँलाई नेता कार्यकर्ता भन्दा पनि दासहरु स्वीकार भए । त्यसैले हामीले पार्टी फुटाउनुपरेको हो ।’

विगतमा पनि कम्युनिष्ट पार्टीहरुले आफ्नो शाख बचाएकाले अहिले अवस्थामा पनि आफूहरुले केही समयमै एक उचाईमा पु¥याउने उनको दावी छ । उनले पार्टी विभाजनलाई फुट्नु वा चोइटिनु भन्दा पनि उत्पन्न परिस्थतिको बाध्यताका रुपमा लिएकी छन् ।

‘हाम्रो भविष्य के हुने भन्ने धेरैले चिन्ता गर्नुभएको छ । तर, पार्टी वा विरासतले मात्रै अर्थ राख्दैन । नेतृत्वकर्ताको विचार, सिद्धान्त र नियतले भर पर्छ । विचार, सिद्धान्त र नियतमा माधव नेपाल स्पष्ट हुनुहुन्छ । अहिले पनि धेरै बौद्धिकहरु हामीसँग हुनुहुन्छ । केही समय अवश्य लाग्छ तर, हामीले हाम्रो अस्तित्व प्रमाणित गराएरै देखाउने छौं’ उनी भन्छिन् ।

यता नेकपा एमालेमा रहेका नेता कार्यकर्ताहरु भने पद र शक्तिको लोभमा नेपालले हतारमा पार्टी फुटाएको बताउँछन् । यो आरोप त हिजो माधव नेपाललाई साथ दिएका दोस्रो तहका नेताहरुबाटै आउन थालेको छ ।

अध्यक्ष बनेर नेतृत्व गर्ने लालसाले हतारमा नेपालले पार्टी फुटाएको बताउँछन् एमाले सांसद राधाकृष्ण कंडेल । ‘एउटा व्यक्तिको रिसले पार्टी फुटाउने भन्ने नि हुन्छ ? माधवजीलाई छिटो अध्यक्ष बन्ने र सरकार चलाउने लोभ पलाएको हो,’ उनी भन्छन्, ‘त्यसमा अरुले बहकाएपछि उहाँ बहकिनुभयो । फुटेर जानेहरुको हालत देखेकै छौं नि ! हेर्दै जानुस् ढिलोचाँडो उहाँको हालत पनि त्यस्तै हुने हो ।’

पार्टीभित्रै बसेर लडाईं लड्नुपर्नेमा माधव नेपालले सत्तामा पुग्नका लागि छोटो बाटो अपनाउँदै पार्टी फुटाउन हतार गरेको विश्लेषकहरु बताउँछन् । कोरोनाले आक्रान्त हुँदा नागरिक भोकभोकै मर्नुपर्ने स्थिति पनि थियो । निजी अस्पतालहरुले कोरोनाका नाममा लुट नै मच्चाएका थिए । यस्तो अवस्थामा न त प्रचण्ड नै बोले न माधव नेपाल नै । उनीहरुले केवल आफू सत्तामा जाने र ओलीलाई परास्त गर्ने एजेण्डा मात्रै बोके । ओलीले यो कुरा राम्ररी बुझेका छन् । जनतामा पनि उनीहरुप्रति राम्रो प्रभाव भने छैन ।

केवल सत्ता स्वार्थका लागि लड्ने गरेको बुझाई छँदैछ । सोही कारण पनि अब माधव नेपालको पार्टीमा रहेका नेता कार्यकर्ताहरुको भविष्य के हुने भन्ने अन्योल छ । त्यतिलामो विरासत बोकेको पार्टीका कार्यकर्ताहरुले अहिले फरक दलमा गएका माधव नेपाललाई ह्वात्तै विश्वास गरिहाल्ने स्थिति पनि छैन । यदि एमालेभित्रै रहेको भए आगामी महाधिवेशनबाट ओलीलाई पराजित गराएर पार्टी नेतृत्व लिन सकिने भए पनि माधव नेपाल प्रचण्डको बहकाउमा आएर पार्टी फुटाउनतिर लागेको विश्लेषकहरु बताउँछन् ।

(अनुमति बिना जस्ताको तस्तै वा परिर्वत गरि अन्य कुनै पत्रिका,अनलाईन तथा यूट्युवमा राख्न मिल्ने छैन, यदि यस्तो भएको खण्डमा कपी राईट लाग्ने छ, समग्र समाचार साप्ताहिकबाट)

२०७८ भदौ १७ गते प्रकाशित


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...