एनसेलद्वारा एसईई विद्यार्थीका लागि‘‘पहिलो सिम’ योजना सार्वजनिक
वि.सं.२०७८ भदौ १५ मंगलवार
काठमाडौँ । एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् ।
यो योजना मंगलबार (भदौ १५) देखि संचालनमा आउँदैछ । एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्छन् ।
यो योजनाअन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र रु १०० वा सोभन्दा बढीको पहिलो रिचार्जमा रु २० मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउँछन् । त्यसैगरी रु ५० वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्छन् । यस्तो रिचार्जमा विद्यार्थीहरुले ३ दिन मान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्छन् ।
विद्यार्थीहरुलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट लिन सक्छन् ।
भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनसबाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरुले आफूलाई सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँचवटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सक्छन् । नम्बरहरु माइफाइभ समूहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा मात्र ५० पैसा प्रति मिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, रु १०० वा सोभन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउनेछ ।
विद्यार्थीहरुले एस्ट्रिक्स १७१६४ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफू सधै सम्पर्कमा रहनुपर्ने पाँचवटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्छन् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।
एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विभिन्न सेवाहरु बन्डल गरिएको यो पहिलो सिम योजनाले विद्यार्थीहरुलाई साथीभाई, परिवारजनसँग सम्पर्कमा रहिरहन र मोबाइल इन्टरनेटको माध्यमबाट विश्वसँग जोडिन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।
२०७८ भदौ १५ गते प्रकाशित
प्रकाशित समय : १०:१७ बजे