चन्द्र ढकालले पनि दिए राजीनामा

वि.सं.२०७८ भदौ १० बिहीवार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिका सदस्य चन्द्र प्रसाद ढकालले उक्त पदबाट राजिनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा बोर्डको सञ्चालक समिति सदस्यमा रहेका बरिष्ठ उपाध्यक्ष ढकालले सर्वाेच्च सिमेन्ट खरिद प्रकरणमा नाम आएपछि नैतिकताको हिसाबमा सञ्चालक समितिको सदस्यबाट राजिनामा दिएका हुन् ।
उनले महासंघका अध्यक्ष शेखर गेल्छालाई आफू सेबोन सञ्चालकमा नबस्ने जानकारी गराउनु भएको छ । ढकालले राजिनामा दिएसँगै सेबोनमा कसलाई पठाउने भन्ने विषयमा निर्णय नभएको महासंघ निकट स्रोतको भनाई छ ।
सोही प्रकरणमा नाम जोडिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्र सिंह साउद यस अघि नै राजीनामा दिईसकेका छन् । साउदले मंगलबार पदबाट राजिनामा दिएका थिए ।
सेबोन सदस्य ढकालले बुधबार महासंघलाई राजिनामा बुझाउनु भएको छ । अब बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना नैतिकताको आधारमा राजिनामा दिने वा नैतिकतालाई बेवास्था गर्दै पदमा नै बसिरहने हुन सबैको चासोको विषय बनेको छ ।
२०७८ भदौँ १० गते प्रकाशित

प्रकाशित समय : ०८:२९ बजे