रुरु जलविद्युतको एजीएम असोज १६ मा, २०.५२६३ % प्रतिफलको हकदार कहिलेसम्म बन्न मिल्छ ?

वि.सं.२०७८ भदौ ८ मंगलवार

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले असोज १६ गते वार्षिक साधारण सभा(एजीएम) आह्वान गरेको छ । कम्पनीले दुई आर्थिक वर्ष (२०७६।७७ र २०७७।७८) को एकैपटक वार्षिक साधारणसभा आह्वान गरेको हो ।
कम्पनी सञ्चालक समितिको हिजो (भदौ ७ गते) बसेको बैठकले कम्प्नीको १५ औँ र १६ औँ वार्षिक साधारणसभाको मिति असोज १७ गतेलाई तय गरेको हो । सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७६र७७ र २०७७र७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ।
कम्पनीले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
यसैगरी कम्पनीले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सोही सभाले वार्षिक प्रतिवेदन, दुवै आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
२०७८ भदौँ ८ गते प्रकाशित

प्रकाशित समय : ११:१७ बजे