कक्षा १२ र टि.यू.को स्नातकोत्तरको तेस्रो सेमेस्टरका परिक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

वि.सं.२०७८ साउन १८ सोमवार

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन् ।
आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प देखाउँदै राज्यमन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयलाई यस्तो आग्रह गरेका हुन् । उनले शिक्षा मन्त्रालयलाई औपचारिक जानकारी गराउने तयारी गरेको समेत उल्लेख गरेका हुन् ।
कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको छ । यसअघि पनि जेठ २६ गते तय भएको कक्षा १२ को परीक्षा दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरको तेस्रो सेमेस्टरको परिक्षा समेत यही २० गतेबाट हुने भनिएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न सुझाव दिएपछि परीक्षा स्थगित गर्ने वा नगर्ने भन्ने बिषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।
२०७८ साउन १८ गते प्रकाशित

प्रकाशित समय : १०:५१ बजे