सातै प्रदेशका प्रदेश प्रमुखहरू हटाउने तयारी, नेपाल पक्षले पनि पाउने २ जना

वि.सं.२०७८ साउन १२ मंगलवार

काठमाडौँ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको नियुक्त बखास्त गरेर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने सहमति भएको स्रोतले जनाएको छ ।
गठबन्धनका नेताहरूबीच सात प्रदेशमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ ।
यता एमाले एकता र विभाजनको टुंगो नलागेकाले माधव नेपाललाई भने अझै नाम दिन गारो परिरहेको छ । जसले गर्दा आजै माधव नेपालसँग प्रचण्डले भेट गरेका छन् ।
हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा ‘अहिराज’, वाग्मतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।
२०७८ साउन १२ गते प्रकाशित

प्रकाशित समय : ०७:४५ बजे