विभागको अनुगमन टोलीले गर्यो १ हजार बढी फर्ममाथि कारबाही

वि.सं.२०७८ साउन ६ बुधवार

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्षमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारबाही गरेको जनाएको छ ।
विभागले गत आर्थिक वर्षमा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका १ हजार ३५ व्यापारिक फर्म÷कम्पनी तथा उद्योग कारबाहीमा परेका हुन्।
एक वर्षको अवधिमा विभागले २ हजार ९४७ फर्मको अनुगमन गरेको थियो। तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, १ हजार ५९७ फर्मलाई सामान्य सुधार र ३९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको थियो। विभागको तथ्यांकअनुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमुना संकलन, ३८ फर्मको कारोबार रोक्का, १९ जनालाई अभियोग लगाइएको र ३ वटा साधन नियन्त्रणमा लिइएको थियो।
कारबाहीमा परेका उद्योगलाई लगाइएको जरिवानाबापत २ करोड ३९ लाख ८२ हजार रुपैयाँबराबर राजश्व संकलन भएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए। उनका अनुसार १ वर्षको अवधिमा ३ करोड ७३ लाख ८४ हजार ४०१ रुपैयाँबराबरको अखाद्य वस्तु नष्ट गरिएको छ।
विभागअन्तर्गत रहेका ५ कार्यालय (विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी) ले गत आवमा १ हजार ३४७ व्यापारिक फर्मलाई कारबाही गरेका छन्। ती फर्मलाई कारबाहीस्वरुप जरिवाना गर्दा १ वर्षको अवधिमा ३ करोड ३३ लाख ७० हजार राजश्व संकलन भएको छ। ४ हजार ७७९ व्यापारिक फर्मको अनुगमन गरिएकामा ५१ फर्मको कारोवार रोक्का गरिएको थियो। यसका साथै ३ करोड ९८ लाख ५३ हजार २५९ रुपैयाँबराबरको म्याद सकिएको वस्तु नष्ट गरिएको थियो।
त्यस्तै ४ हजार ४१ अन्य फर्मलाई समेत कारबाही गरिएको विभागले जनाएको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने फर्मलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गर्दै आएको छ।
२०७८ साउन ६ गते प्रकाशित

प्रकाशित समय : ०८:५१ बजे