अष्ट्रेलियाली राजदुतद्वारा त्रिवि शिक्षण अस्पताललाई ४१ लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण

वि.सं.२०७८ असार २३ बुधवार

काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाली राजदुत फेलीसिटी वोल्कले मंगलबार त्रिभुवन विश्वबिद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । राजदुतले करिब रु ४१ लाख बराबरका दुई स्वास्थ्य उपकरणहरु संस्थानका डिन, प्रा.डा. दिव्या सिंह शाह र त्रिवि शिक्षण अस्पताल फरेन्सिक बिभागका डा. समारिका दाहाललाई हस्तान्तरण गरेका हुन् ।
अष्ट्रेलिया अवार्डस् अल्मुनाई ग्राण्टबाट दुई जना अष्ट्रेलियाली विश्वविद्यालयहरुका अल्मुनाई – प्राडा शाह र डा. दाहाललाई उनीहरुको कार्यमा थप सहयोग गर्न अल्ट्रासाउन्ड मेसिन र पोर्टेवल डेन्टल एक्सरे मेसिन प्रदान गरिएको हो ।
डेण्टल एक्सरे मेसिन त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक मेडिसिन बिभागमा बिपद् पीडित ब्यक्तिहरुको पहिचान गर्ने कामलाई बिस्तार गर्न प्रयोग गरिने छ । डा. दाहाल डेण्टल एक्सरे बाट पहिचान गर्ने बिधामा नेपालको पहिलो ब्यक्ति हुनुहुन्छ र चिकित्सा पेसाप्रतिको प्रतिवद्धता, नेपालमा स्वास्थ्य सेवामा उहाँको योगदान र अष्ट्रेलिया अवार्डस् महिला नेतृत्व संजाल नेपालमामा उहाँको सकृय सहभागिताको कदर स्वरुप प्रदान गरिएको हो ।
आईओएमका डिन प्राडा शाहमार्फत प्रदान गरिएको अल्ट्रासाउण्ड मेसिन डा. शाहको मृगौला रोग र अंगप्रत्यारोपण क्षेत्रमा योगदानको लागि प्रदान गरिएको हो ।
उक्त उपकरणहरु हस्तान्तरण गर्दै राजदुत वोल्कले भने “अष्ट्रेलिया सरकारको नेपाल कोभिड-१९ बिकास सहयोग योजना अनुसार नेपालको स्वस्थ्य सुरक्षाको क्षेत्रमा सहयोग गर्न प्रतिबद्ध रहेको छ । यो योजनाले नेपाललेसमानान्तर रुपमा झेलिरहेका विभिन्न प्रकारका चुनौतिहरु र अति जोखिममा रहेका समुदयलाई सहयोग केन्द्रित गर्नेछ ।”
“विगत केहि महिना देखि स्वास्थ्य प्रणालीहरुधेरै दवाव देखिएको छ र नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु लाई परेको जटीलता र तनावको म कल्पना मात्र गर्न सक्छु । मलाई आशा छ अष्ट्रेलिया अवार्डस् अल्मुनाई ग्राण्टबाट प्राप्त यो सहयोगले नेपालको स्वस्थ्य प्रणालीमा सहयोग गर्नेछ र दशकौं देखि नेपाल र अष्ट्रेलियाले एकआपसमा गरेको मित्रवत सहयोगको सम्झना गराउनेछ ।”
२०७८ असार २३ गते प्रकाशित

प्रकाशित समय : ०७:३५ बजे