चुम्बन गरेको कारण स्वास्थ्य मन्त्रीले दिए राजिनामा

वि.सं.२०७८ असार १३ आइतवार

काठमाडौँ । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि ह्यानककले राजीनामा दिएका हुन्।
उनले जनताले यो महामारीमा गरेका ठूलो त्यागका लागि र जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने बताएका छन् ।
प्रधानमन्त्री बोरिस जोनसनले ह्यानककको राजीनामा पत्र पाएर आफू दुःखी भएको बताएका छन् । पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।
द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ । कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन् ।
ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्, ’म स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ।’ यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ।’
स्वास्थ्यमन्त्रीका रूपमा तीन वर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा नियम तोडेकोमा बारम्बार माफी मागेका छन्। त्यस्तो अवस्थाका लागि उनले आफ्नो परिवार र प्रियजनसँग समेत माफी मागेका छन्।
२०७८ असार १३ गते प्रकाशित

प्रकाशित समय : ०८:२९ बजे