यी हुन आईपीओ निष्काशनका लागि पाइपलाइनमा रहेका २ कम्पनी

वि.सं.२०७८ असार १ मंगलवार

काठमाडौँ । साधारण सेयर(आइपीओ) निष्काशनका लागि २ कम्पनी नेपाल धितोपत्र बोर्डमा अनुमतिका लाग निवेदन पेश गरेका छन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपिओ निष्काशनका लागि सेबोनमा निवेदन पेस गरेका हुन् ।
युनियनले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता र सानिमाले६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेका हुन् । यी दुवै कम्पनीले जेठ ९ गते आइतबार सेबोनमा निवेदन पेश गरेका थिए ।
युनियन लाइफ इन्स्योरेन्सः कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस्तै कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । यो रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रूपैयाँ रहेको छ । आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । बीमा समितिको निर्देशन अनुसार चुक्तापूँजी २ अर्ब पुर्याउनुपर्ने भएकाले कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको हो ।
सानिमा लाइफ इन्स्योरेन्सः कम्पनीको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकमा पनि प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आईपीओ केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ११.७५ प्रतिशतले बढेर ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । जीवन बीमा कोष रकम पनि बढेर १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हाल चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ ।
२०७८ असार १ गते प्रकाशित

प्रकाशित समय : ०७:४२ बजे