बोर्डको ध्यानाकर्षण पछि बजारमा करेक्सन, कारोबार रकममा भने उत्साह कायमै

वि.सं.२०७८ जेठ २६ बुधवार

काठमाडौँ । बुधबार नेपाली सेयर बजारमा करेक्सन आएको छ । आज नेप्से परिसूचक १३.५६ अंकले घटेर २९४७.५८ को बिन्दूमा कायम भएको हो । अघिल्लो दिन अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा पुगेपछि बजारमा नियमक निकाय नेपाल धितोपत्र बोर्डले बजार बढेसँगै जोखिम बढेको भन्दै बुझेर लगानी गर्न आग्रह गरेको थियो ।
बोर्डको यो सूचनासँगै लगानीकर्ता केही खुम्चिएको अनुमान गर्न सकिन्छ । यद्यपी कारोबार रकममा भने उत्साह कायमै छ । यो दिन २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ किक्ता सेयर किनबेच हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजारको कारोबार भएको हो ।
यसरी नै यो दिन फाइनान्स, जिवन बिमा, उत्पादन तथा प्रशोधन र म्युच्युअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको हो ।
यी हुन् घटेको बजारमा कमाउने लगानीकर्ता
घटेको बजारमा पनि केही कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशत भन्दा बढीले कमाएका छन् । नेपाल इन्स्योरेन्स, युनाइटेड मोदी हाईड्रो पावर, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रो, सीइडीबी हाइड्रो र बरुण हाईड्रोका लगानीकर्ताले भने आज घटेको बजारमा पनि ९ प्रतिशत बढीले कमाएका हुन् ।
२०७८ जेठ २६ गते प्रकाशित

प्रकाशित समय : ०९:३७ बजे