मूल्यवृद्धि देखि उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति ७ विद्यार्थी संगठनको असन्तुष्टि
वि.सं.२०७८ जेठ २३ आइतवार
काठमाडौँ । देशभरका विभिन्न विद्यार्थी संगठनहरुले सरकारका विभिन्न क्रियापकलाप प्रति असन्तुष्टि जनाएका छन् । देशका प्रमुख विद्यार्थी संगठनहरुको आज संयुक्त रुपमा बसेको जुम मिटिङमा सात विद्यार्थि संगठनले उपप्रधानमन्त्रीको अभिव्यक्ति, मूल्यवृद्धि, ‘खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गर्ने बजेट वक्तव्य, झापाको बी एण्ड सी कलेजलाई दिएको सम्बन्धनका साथै त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई अन्योलमा पारेको भन्दै विरोध गरेका हुन् ।
बैठकमा हरिकृष्णा गजुरेल नेतृत्वको अखिल(क्रान्तिकारी), चिरञ्जीवी ढकाल नेतृत्वको अखिल(क्रान्तिकारी) अखिल (पाँचाँै), नेपाल विद्यार्थी संघ, रञ्जित तामाङ नेतृत्वको अखिल(क्रान्तिकारी) अनेरास्ववियू र अखिल (छैटो) को उपस्थिति रहेको थियो ।
बैठकका निर्णयहरु तथा मागहरुः
१. नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता विरोधी अभिव्यक्तिको भत्र्सना गर्दछौं । उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै जनाउँदैन, ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्दछ । प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणको माग गर्दछौं । उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरुद्ध जेठ २२ गते काठमाडौंको प्रदर्शनमा अनेरास्ववियुका नेताकार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दछौं ।२. सरकारले२०७८÷७९ को बजेट वक्तव्यमा ल्याएको ‘खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिने’ योजनाले देशको पूर्वदेखि पश्चिमसम्म कमजोर चट्टान र माटोको भूबनोटसहित फैलिएको चुरेक्षेत्र तस्कर र माफियाहरुबाट दोहन हुनेछ । सरकारी योजना कार्यान्वयन भएमा खानीजन्य वस्तु र तराईको जलस्रोत नष्ट हुनुको साथै पर्यावरणीय सन्तुलनमा गम्भीर असर पर्नेछ । प्रकृतिविरोधी योजनाले मानव र जीवजन्तुको जीवनमाथि संकट उत्पन्न हुने भएकाले बजेटमा उल्लेख गरिएको उक्त प्रावधान तत्काल खारेज गर्न माग गर्दछौं ।
३. दैनिक उपभोग्य वस्तुहरुमा निरन्तर मूल्यबृद्धि भइरहेको समयमा पेट्रोलियम पदार्थमा थप मूल्यबृद्धि गरिएको छ । यसले उपभोक्तालाई दोहोरो मारमा पारेको छ । नेपाल आयल निगममा हुने खरबौं रुपैयाँको कारोबार पारदर्शी बनाउन, पेट्रोलियम पदार्थमा लगाइएको अनावश्यक कर हटाउन र जनतालाई उचित मूल्यमा विक्री गर्न विद्यार्थी संगठनले बारम्बार माग गर्दै आएको अवस्थामा हाम्रा सबै मागहरुलाई बेवास्ता गरी मूल्यबृद्धि गरिनु जनतामाथि गरिएको गम्भीर अपराध हो । मूल्यबृद्धिलाई मात्रै समाधान देख्ने शासक वर्गलाई जवाफदेही बनाउन हामीले कडा संघर्षमा जानुपर्ने ठहर गरेका छौं ।
लकडाउनलाई मूल्यबृद्धिको अवसरको रुपमा नलिन चेतावनी दिन चाहन्छौं ।४. झापाको बी एण्ड सी मेडिकल कलेजलाई अवैध ढंगले दिइएको सम्बन्धन तत्काल खारेज गर्न माग गर्दछौं । निजी विद्यालयहरुले विद्यालय बन्द भएको अवधिको शुल्क निरन्तर असुल गरिरहेका छन् । सरकार शुल्क असुलीको मतियार बनेको छ । महासंकटको समयमा शुल्क असुलीबाहेक अर्काे कुनै पनि धन्दा नभएका विद्यालयहरु बन्द गर्न चेतावनी दिन चाहन्छौं । बन्द भएका विद्यालयका विद्यार्थीहरुको उचित प्रबन्ध गर्ने दायित्व सरकारको भएको स्मरण गराउँछौं ।
५. त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयहरुले सार्वजनिक गरेका परीक्षाहरु लकडाउनको कारण स्थगित भएका छन् । यसले विद्यार्थीको भविष्यलाई अन्यौल बनाएको छ । विद्यार्थी, प्राध्यापक, कर्मचारी र सरोकारवाला सँग व्यापक छलफल गरी उचित मापदण्ड बनाइ विद्यार्थीको परीक्षा लिने वातावरण निर्माण गर्नको लागि अनुरोध गर्दछौं ।
२०७८ जेठ २३ गते प्रकाशित
प्रकाशित समय : ११:४१ बजे