कालिका पावरले ३४.२७ प्रतिशतले बढायो नाफा
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिका पावरले खुद नाफा ३४.२७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष चैत मसान्त अर्थात तेस्रो त्रैमाससम्म ४ करोड ६२ लाख ५३ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको कालिकाले चालु आर्थिक वर्षको समिक्षा अवधिमा ६ करोड २१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
यसैगरी विद्युत् बिक्रिबाट हुने आम्दानीमा पनि वृद्धि भएको छ । समिक्षा अवधिमा कालिकाले विद्युत् बिक्रीबाट हुने आम्दानी ४.६७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विद्युत् बिक्रीबाट १३ करोड ९१ लाख २५ हजार रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समिक्षा अवधिसम्म आईपुग्दा कम्पनीले त्यस्तो आम्दानी १४ करोड ५६ लाख ३० हजार रुपैयाँ गरेको हो ।
यता, अन्य स्रोतबाट हुने आम्दानी भने घटको छ । गत वर्ष २ लाख ७६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष १ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८१ पैसा छ । चुक्ता पुँजी ६० करोड रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ४८ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
प्रकाशित समय : ०४:४० बजे