मुक्तिनाथ विकास बैंकको नाफा ३४ करोड ५५ लाख
वि.सं.२०७८ कात्तिक १५ सोमवार
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य प्रगती गरेको छ । बैंकले आज सार्वजनीक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ३४ करोड ५५ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४८ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै नेट फि कमिसन उल्लेख्य बढ्दा बैंकको नाफा बढ्न टेवा पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.४८ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६१.०६ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९५ करोड ६३ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १६.०२ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ११.८१ प्रतिशतले बढेको छ भने कर्जा १६.६६ प्रतिशतले मात्र बढेको छ।
चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ७३ पैसा कायम भएको छ । यस बैंकको मूल्य आम्दानी अनुपात २४.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ।
२०७८ कात्तिक १५ गते प्रकाशित
प्रकाशित समय : १७:२० बजे