युवाको कथा:नपढेकाले मात्रै कपडा सिलाउँछन् भन्ने विचारलाई चिर्न टेलरिङ्ग ब्यवसाय सुरु गरे

वि.सं.२०७८ असार २८ सोमवार

काठमाडौँ । पछिल्लो समय निकै नै लोकप्रिय बनेको ‘श्रीराज कलेक्सन’ काठमाडौँ महानगरपालिका–१८ अन्तर्गत नरदेवीमा अवस्थित रहेको छ । टेलरको काम लिएर ‘श्रीराज टेलरिङ्गि’मा जाँदा हँसिलो चेहरा लिएर मुसुक्क मुस्कुराउँदै झट्ट हेर्दा मोडल जस्तो देखिने एक युवाले ग्राकहलाई स्वागत गरिरहेका हुन्छन्, ती युवा अरु कोही नभएर सोही टेलरिङ्गका सि.ई.ओ. हुन् ।
बाहिरबाट कोही नयाँ ग्राहक आउँदा उनीहरुलाई लाग्न सक्छ यस्तो आकर्षक व्यक्तित्व भएको व्यक्ति पक्कै पनि टेलरिङ्गको काम लिएर आएको हुनुपर्छ, तर उनीहरुको अन्दाजले फेल खान पुग्छ। किनकी उनी कम्पनीको सि.ई.ओ. हुन् त्यो भन्दा अझ अचम्म त उनी सि.ई.ओ. भएर पनि ज्यामीले जस्तै मेहनतका साथ काम गर्छन् । यसले ग्राहकलाई अझ बढी अचम्मीत पार्छ कि उनी कामदार हुन या टेलरिङ्गका मालिक भनेर।
लामो समयदेखि टेलरिङ्गमा चम्केका उनी बालकोट निवासी राज कार्की हुन् । उनी झलक्क देख्दा मात्रै राम्रो व्यक्तित्व नभई उनको विचार र व्यवरहार पनि उत्तिकै राम्रो छ ।
उनी पहिला एक बोर्डीङ स्कुलको सञ्चालक थिए । विद्यालय सञ्चालकको रुपमा लगभग एक दशक नेपालमा विताएपछि उनी वैदेशिक रोजगारिको क्रममा दुवई पुगे । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच विचार बोकेका उनी त्यहाँ पनि धेरै टिकेनन् । नेपाल फर्किए !
नेपाल फर्किएपछि उनको मनमा के गर्ने कसरी गर्ने भन्ने कौतुहलताका साथै दोधारमा परे । तर त्यो दोधारेपन धेरै समय टिकेन, आफुलाई २ वटा व्यवसायको सोच आएको उनी बताउँछन् । उनको विचारमा खाद्यान्न र सर्टिङ सुटिङ मध्य एक व्यावसाय गर्ने विचार आयो ।
आफु पहिला शिक्षा क्षेत्रमा हुँदा धेरै मानिससँग राम्रो चिनजान थियो । पहिला शिक्षा क्षेत्रमा भएको हुँदा प्रायः सबै प्रिन्सिपलहरुसँग उनको राम्रो चिनजान थियो । जसले गर्दा उनको व्यावसायलाई सहज हुने महशुस गरी अन्तिमा टेलरिङ्ग व्यवसाय गर्ने मनस्थितिमा पुगेको उनको भनाई छ ।
उनको टेलरिङ्ग प्रतिको मोह व्यावसाय फष्टाउन सहज हुने मनसाय मात्रै नभई त्यो भन्दा अझ ठूलो रहस्य छ । त्यो हो परम्परावादी, समाजको पेसा र जात विचको भ्रमित सोचको सम्बन्धलाई चिर्नु !
पहिले देखि नै दलित वर्ग गन्तर्गत पर्ने ‘दमाई’ जातिले मात्रै टेलरिङ्गको काम गर्छन् भन्ने समाजको मनोस्थितिलाई परिर्वतन गर्न आफैबाट परिर्वतन खोज्न खोजेको बताउँछन् । उनी भन्छन् ‘हाम्रो समाजको मानसिकतामा टेलरिङ्ग व्यवसाय भन्ने बित्तिकै पिछडिएका जातले गर्ने पेशा हो भन्ने भ्रम छ । त्यसलाई चिरेर कसरी अगाडी बढ्न सकिन्छ भन्ने लाग्यो । त्यो भ्रमलाई चिर्नु छ भने, म आफैले शुरुवात गर्नुपर्छ भन्ने लागेर मैले यो पेसा समाए ।’
उनले जातिय र पेसाबीचको यो तुच्छ मानसिकता चिर्नुका साथै रोजगारीका लागि विदेश उत्तम विकल्प देख्ने युवालाई पनि एक उदाहरण बन्ने बताए ।
नेपालका युवाहरु सबैभन्दा उत्तम विकल्प नै विदेश ठान्छन् पछि विदेशमा गइसकेपछि स्वदेश बस्ने बानीका साथै स्वदेशमा अन्य मौका पाउने सम्भावना पनि कम हुन्छ र पुनः जर्वजस्त विदेश फर्कनुपर्ने अवस्था देखिन्छ । यो मानसिकता बोकेका युवाहरुका लागि पनि नेपालका केही गर्न सकिन्छ भनेर उदाहरण बनेर देखाउन खोजेको बताउँछन् ।
उनले भने ‘स्वदेशमै उद्यम, व्यवसाय सुरु गर्न सकिन्छ नेपालमा प्रशस्त सम्भावनाहरु छन्,’ राजले थपे, ‘जीवन चलाउन विदेशी भूमि पुगेर पसिना बगाउँनु पर्दैन ।’
उनी आफ्नो सुरुवाती सम्झदै भन्छन् ‘टेलरिङ व्यवसाय हात हाल्दाको सुरुको पेज त निकै कठिन भयो, कलम चलाईरहेका हातले कैंची चलाउनु पर्दा केही कठिन भयो ।‘
कठिनाईलाई सहज बनाउँन उनले सहयोगी समेत खोजे । सहयोगी खोज्दा आफैले गरेजस्तो नहुँने कति पटक त बचन सुनेर अनुत्तरित्त भएर पनि बसेको थिए । तर हार कहिल्यै नमानि निरन्तर आत्मवल र आत्मविश्वास कायम राखेपछि अहिले आफु एक सफल टेलरिङ्ग व्यावसायी भएको अनुभुति दर्शाउँछन् ।
त्यति मात्रै हैन व्यवसाय सुरु गर्दा उनीसँग मात्रै ७५ हजार रुपैंयाँ थियो । उनले साथीहरुको सहयोगमा ३८ लाख रुपैंयाँ जम्मा गरे र व्यवसाय शुरु गरेका थिए ।
श्रीराज कलेक्सनले विभिन्न स्कुल, कलेज, कार्यालय, बैंक, बीमा तथा वित्तीय संस्थाहरुका लागि अफिसियल पहिरन सिलाउँदै आएको छ । अहिले भारतीय र इटालियन ब्राण्डका लुगा पाइने श्रीराज कलेक्सनमा ग्राहकहरु फर्कि–फर्कि आउँने गर्छन् । राज आफ्नो कामबाट उपभोक्तालाई सन्तुष्ट दिइरहेको र फर्कि फर्कि आईरहेको देख्दा आफु सफल भएको अनुभूति हुने समेत बताउँछन् ।
पसलमा हसिँलो अनुहारले स्वागत गर्ने उनको बानीलाई ग्राहकले निकै रुचाउछन् । अब राजले काठमाडौंका बिभिन्न स्थानमा ब्राञ्चहरु खोल्दै छन् । उनी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सचिव पनि हुन् ।
उनको यो व्यावसाय निकै फष्टाएको छ । गत असार उनले विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्कीलाई श्रीराज कलेक्सनको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छन् ।
२०७८ असार २८ गते प्रकाशित

प्रकाशित समय : ०६:२५ बजे