काठमाडौँ महानगरभित्रका विद्यालय सञ्चालन

वि.सं.२०७८ कात्तिक १६ मंगलवार

काठमाडौँ । लकडाउनका कारण बन्द रहेका काठमाडौं महानगरभित्रका विद्यालयहरु आज (असोज १७ गते)बाट भौतिक रुपमा सञ्चालनमा आएका छन् ।
शैक्षिक सत्र सुरु भएको ५ महिनापछि स्वास्थ्य मापदण्ड पूरा गरेका महानगरभित्रका साढे ४ सयभन्दा बढी विद्यालय असोज १७ गतेबाट भौतिक रुपमा सञ्चालनमा आएका हुन् ।
गत बुधवार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ्चालनबारे निर्णय गरेको थियो ।
सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्न समितिका अध्यक्ष एवम् महानगरका प्रमुख विद्या सुन्दर शाक्यको अनुरोध छ ।
‘अनुगमन आए पालना गरौँला, नत्र आफ्नो अनुकुल हेरौँला भन्ने सोच राख्नु हुन्न’ मेयर शाक्य भन्छन्, ‘विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोभिड १९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्छ ।’
खोप लगाउन नपाएकाहरुलाई महानगरले खोप समेत उपलब्ध गराउने शाक्यले जानकारी दिए ।
प्रमुख शाक्यकाअनुसार कक्षा सञ्चालन गर्नु अघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणका विषयमा समझदारी बनाउनुपर्छ ।
विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ ।
शिक्षा अधिकारी रामप्रसाद सुवेदीकाअनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्नेछ । यसमा भौतिक दुरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामुहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ ।
त्यसैगरी कोरोना संक्रमणकाबिच आजबाट भौतिक रुपमा विद्यालय सञ्चालनका लागि महानगरले केही मापदण्डहरु तयार गरेको छ ।
सुरुमा विद्यालयहरुले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रुपमा शिक्षा विभागमा पेश गर्नेपर्नेछ ।
त्यस्तै विद्यालयमा विद्यार्थीहरुको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौँ महानगरपालिकाको जन स्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउनु पर्नेछ ।
विद्यालय सञ्चालन पूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्नुपर्नेछ । विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेला बेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउनुपर्नेछ । विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकिन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउनु पर्नेछ ।
कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बच्चाहरु लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्नुपर्नेछ । अनिवार्य मास्क लगाउने, खाजा र पानीको प्रबन्ध विद्यार्थी स्वयम्ले घरबाट नै गर्न सूचित गर्नुपर्नेछ । कक्षा कोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरुको बसाइ व्यवस्थापन गर्नुपर्नेछ ।
स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई विद्यालय नआउन जानकारी गराउने, विद्यालयहरुले बालबालिकाहरुलाई हरेक दिन कक्षा संचालन पूर्व १०र१५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्नुपर्नेछ ।
विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने, सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर गरेर क्रमशः तल्ला कक्षाहरु सञ्चालन गर्ने ब्यवस्था मिलाउनुपर्नेछ ।
विद्यार्थीमा अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशन अनुसार गर्नुपर्नेछ ।
काठमाडौं जिल्लाका अधिकांश स्थानीय तहले असोज १ गतेबाट भौतिक रुपमा विद्यालय सञ्चालन गरिसकेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत भदौ २१ गते विद्यालय खोल्न अनुमति स्थानीय तहलाई दिएसँगै विद्यालयहरु खुल्न थालेका हुन् ।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा कलेज सञ्चालन कार्यविधि बनाएर स्मार्ट लकडाउनका आधारमा विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

प्रकाशित समय : १५:२६ बजे