नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा विभिन्न स्थानमा दीपावली
वि.सं.२०७८ जेठ ९ आइतवार
रौतहट- नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहको निर्वाचन क्षेत्रमा दीपावली गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश २०७८ प्रमाणीकरण गरेकोले लाखौं नागरिकता विहीन नेपालीको कल्याण हुने भन्दै पहल गरेकोमा प्रभु साह र सरकारलाई धन्यवाद दिदै स्थानीयले दीपावली गरेका हुन्।
साहको निर्वाचन क्षेत्र रौतहट-३ को कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिकाको गाउँ गाउँमा र रौतहट सदरमुकाम गौर, राजदेवी, बौधीमाईलगायतका स्थानहरूमा दीपावली गरिएको हो ।
नेता प्रभु साहले निरन्तर नागरिकताको समस्या समाधान गर्नका लागि पार्टी भित्र र बाहिर संघर्ष गरेर विजय हासिल गरी जनतालाई खुशी बनाएकोमा दीपावली गरेको स्थानीयले बताए ।
नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसंगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने छ ।
अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ ।
२०७८ जेठ ९ गते प्रकाशित ।
प्रकाशित समय : १६:०३ बजे