अर्थमन्त्रालयले सहमति नदिएपछि चिनी आयातमा ढिलाई, दशैंतिहारमा अभाव र कालोबजारी हुने संकेत
वि.सं.२०७८ भदौ २३ बुधवार
काठमाडौँ। चाडपर्वको लहरो सुरु भएको बेला चिनीको अभाव हुने देखिएको छ । सरकारले चिनी आयातको लागि सहमति नदिँदा दसैं तिहारमा चिनीको चरम अभाव हुने संकेत देखिएको हो ।
अघिल्लो वर्ष जस्तै अहिलेपनि साल्ट ट्रेडिङ्ग कर्पोरेशनले दशैंका लािग चिनी आयातका गर्न भन्सार करमा ५० प्रतिशत छुट मागरेको थियो तर सरकारले यसमा कुनैपनि जवाफ दिएको छैन । अर्थमन्त्रालयले यो वर्षका लागि दसैं तिहारमा उपभोग हुने चिनीआयातको लागि सहमति अहिलेसम्म नदिएपछि चार्डपर्वमा कालोबजारी हस्ताक्षप गर्न चिनी पर्याप्न नहुने जनाएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले साल्ट ट्रेडिङ्ग कर्पोरेशनको प्रस्तावमा ३० हजार मेट्रिक टन चिनी आयात गर्न अर्थ मन्त्रालयसँग ५० प्रतिशत भन्सार शुल्क छुटको माग गरेको भएपनि सहमति दिएको छैन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह प्रवक्ता उर्मिला केसीले गत वैशाख ९ गते पहिलो पटक चिनी आयातको लागि यो प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको बताएपनि सहमति नआएको बताईन् ।
उनले भनिन् ‘दसैं तिहारमा खपत हुने चिनी आयातका लागि हामीले गत वैशाखमै पत्राचार गरेर अर्थ मन्त्रालयसँग सहमति मागेका थियौं,’ त्यसपछि दुई तीन पटक पुनःताकेदा पनि गरिएको हो। तर हालसम्म कुनै सहमति आइपुगेको छैन्।’
दसैं आउन अब मात्रै ३० दिन बाँकी छ। यद्यपी कर्पाेरेसनका अनुसार सहमति आए पछि पनि चिनी आयात गर्न कम्तिमा ४५ दिन लाग्छ । सहमति नपाएपछि कर्पाेरेसनले केही प्रकृया अगाडी पनि बढाएको छैन ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चिनी आयात गरी चिनीको मूल्य बजारलाई हस्तक्षेप गरेर मूल्य नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पछिल्लो समयमा चिनी आयात गर्न सहमति नआउँदा चिनी आयात गर्न हालसम्म कुनै पनि प्रकारको गृहकार्य सुरु नभएपनि दशै तिहारको अवधिमा चिनीमा हुने कालोबजारीमा हस्तक्षेप गर्न कर्पाेरेसनसँग चिनी नभएको कर्पोरेशनका सह–महाप्रबन्धक कुमारराज भण्डारीले बताए ।
‘वैशाखमै सहमति मागेका थियौं,’ भण्डारीले भने, ‘तर हालसम्म सहमति आइनपुग्दा हामीले चिनी आयात गर्न आवश्यक गृहकार्य सुरु गरेका छैनौं।’
पब्लिक प्राइभेट लिमिटेड अवधारणामा सञ्चालनमा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई बजार हस्तक्षेपको भूमिका निर्वाह गर्न सरकारले जिम्मेवारी दिएको छ। पछिल्लो समयमा बजारमा चिनीको मूल्य अत्याधिक परिमाणमा वृद्धि भइरहँदा सरकारले आयात गर्नका लागि सहमति दिन आलटाल गर्दै आएको हो।
अघिल्लो वर्षको दसैंको ठिक २० दिनअघि साल्टले भारतबाट ५० प्रतिशत भन्सार शुल्क छुटमा २० हजार टन चिनी आयात भएको थियो। त्यही चिनीमध्ये मौज्दात रहेको २ सय ५० टन चिनीबाट आमउपभोक्तालाई १ देखि २ किलोका दरले प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गर्दै आएको छ।
‘हामीले १ देखि २ किलोका दरले उपभोक्तालाई चिनी उपलब्ध गराइरहेकाले केहीमात्रै मौज्दात बाँकी छ,’ सहमहाप्रबन्धक भण्डारीले भने, ‘यो मौज्दात पनि सकिने अनि भारतबाट आयात गर्न सहमति पनि समयमा नपाइने हो भने यो वर्षको चार्डवाडमा चिनीको कृत्रिम अभावका साथै मूल्य अत्यधिक बढ्ने अवस्था आउन सक्छ।’
यता अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले सरकार परिवर्तन भएका कारण निर्णय गर्न ढिलाई भएको बताएका छन् । उनले उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त भएको प्रस्तावलाई छिट्टै सहमति दिएर आयात गर्न अनुमति दिइने बताए।
साल्टसँग चिनीको मौज्दात सकिएका कारण बजारमा अहिले नै व्यापारीले प्रतिकिलो चिनीलाई ९० देखि ९५ रुपैयाँ उपभोक्ताबाट असुल्दै आएका छन् । नेपालमा बार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेको देखिन्छ ।
गत् बर्ष स्वदेशी चिनी उद्योगबाट १ लाख ५ हजार टन चिनी उत्पादनभएको थियो। चिनी आयात नहुने हो भने हरेक वर्ष करिब १ लाख ४५ हजार टन चिनीको अभाव हुन्छ। चिनीको यो अभावलाई पूर्ति गर्न सरकारले साल्टलाई चिनी आयात गर्न हरेक वर्ष अनुमति दिँदै आएको छ। यो बाहेक दसैं तिहार र छठसम्म अतिरिक्त करिब ३५ हजार मेट्रिक टन चिनीको माग हुन्छ।
गत् साउनमा मात्रै ७९ करोड ५३ लाख ९४ हजार मूल्य बराबरको १६ हजार २ सय ५७ टन (१ करोड ६२ लाख ५७हजार ७ सय किलो) चिनी आयात भएको थियो।
त्यसपश्चात चिनी आयात भएको छैन । तसर्थ अब दशै तिहारमा चिनीको चरम अभावका साथै कालोबजारी हुने देखिन्छ ।
२०७८ भदौ २३ गते प्रकाशित
प्रकाशित समय : ११:४४ बजे