मोरङ व्यापार सङ्घद्धारा पुलको मर्मत गर्न माग

वि.सं.२०७८ भदौ १७ बिहीवार

काठमाडौँ । मोरङ व्यापार सङ्घले हाटखोलास्थित सिङ्घीया पुलको तत्काल मरमत गर्न सरकारको विभिन्न निकायलाई आग्रह गरेको छ ।
विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रङ्गेली सडक खण्डमा अवस्थित सो पुल विगतका बाढीका कारण जीर्ण बनेको बताइएको छ । सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उक्त पुल जर्जर अवस्थामा पुगेकाले समयमै मरमत गर्न सरकारका सम्बन्धित निकायलाई ध्यानाकर्षित गराएका हुन् ।
सो सडक खण्डमा मालबाहक र सार्वजनिक सवारीसाधनको आवागमनको चापसमेत दिनानुदिन बढ्दै गइरहेको जनाउँदै उनले उक्त पुलको जीर्ण अवस्थाका कारण दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरीे समयमै मरमत गर्न माग गरे ।
उनले यसका लागि सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदेश नं १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री, सडक विभागका महानिर्देशक र सडक डिभिजन विराटनगरका प्रमुखलाई पत्राचार समेत गरे । सङ्घले व्यावसायिक एवं व्यापारिक महत्व राख्ने पुलको समयमै सुधार एवं मर्मतभएमा यस प्रदेशकै आर्थिक क्रियाकलापमा वृद्धि हुने जनाएको छ ।
२०७८ भदौ १७ गते प्रकाशित

प्रकाशित समय : १३:५३ बजे