महामारीबाट प्रभावित उद्योग र वाणिज्य क्षेत्रलाई ९० प्रतिशतसम्म कर छुट

वि.सं.२०७८ असार २१ सोमवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग तथा वाणिज्य क्षेत्रलाई ९० प्रतिशत कर छुट दिने भएको छ । कामपाले आज आर्थिक विधेयक ०७८ पारित गर्दै यस्तो निर्णय गरेको हा ।
राष्ट्रिय सभा गृहमा बसेको नवौँ अधिवेसनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक, प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित कार्यक्रममा महानगरले उद्योग र वाणिज्य क्षेत्र तथा सामान्य जनजीवनमा पारेको प्रभावलाई विश्लेषण गरेर कम्तीमा २० प्रतिशत देखि बढीमा ९० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको जानकारी गराएको हा ।
बैठकका अध्यक्ष एवम महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीको पीडा भोगिरहेको आर्थिक क्षेत्रको उठ्न सक्ने बनाउन राजस्वका दर यथावत गरेर दायरा बढाउने नीतिअनुरुपमा हामीले निर्णय गरेको बताए ।
यस अघि असार ३ गते सभामा पेश भएको आ. व. ०७८–०७९ को बार्षिक नीति तथा कार्यक्रम छलफलपछि असार ६ गते बसेको तेस्रो बैठकले पारित गरेको थियो ।
आजको बैठकमा लेखा समितिका संयोजक ध्रुवप्रसाद त्रिपाठीले लेखा समितिको प्रतिवेदन पेश गरेका हुन् । छलफलपछि सभाले प्रतिवेदन पारित गरेको छ । नगर सभाको छैटौँ बैठक असार २५ गते बस्नेछ । त्यस बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।
२०७८ असार २१ गते प्रकाशित

प्रकाशित समय : ०८:५८ बजे