विश्वको सबैभन्दा महँगो बिट्क्वाइनको भाउ घट्यो
वि.सं.२०७८ जेठ ९ आइतवार
काठमाडौं। विश्वको सबैभन्दा महँगो भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ आइतवार प्रतिगोटा ३४ हजार डलरनजिक आएको छ ।
अघिल्लो दिनको तुलनामा आइतवार १० जीएमटीमा यसको भाउ ८ दशमलव ९ प्रतिशतले घटेर ३४ हजार १५६ डलरमा आएको हो ।
यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ३ हजार ३४४ डलर ५४ सेन्ट कम हो । यस वर्षको उच्च विन्दुबाट बिट्क्वाइको भाउ अहिले ४७ दशमलव ४ प्रतिशत तल छ । अप्रिल १४ मा यसको भाउले ६४ हजार ८९५ डलर २२ सेन्छको उच्च विन्दु छोएको थियो ।
आइतवार इथरको भाउ पनि ११ दशमलव ५ प्रतिशतले घटेर प्रतिगोटा २ हजार ३१ डलर ९६ सेन्टमा आएको थियो । चीनले बिट्क्वाइनको माइनिङ र कारोबारबारे दिएको अभिव्यक्तिका कारण भाउ दबाबमा आएको हो ।
चीनको केन्द्र सरकारको निकाय राज्य परिषद्ले शुक्रवार वित्तीय स्थायित्व विकास समितिको बैठकको माइन्यूट सार्वजनिक गरको थियो । माइन्यूटमा वित्तीय जोखिम कम गर्न बिट्क्वाइनको माइनिङ र कारोबार गतिविधि माथि कारबाही गर्ने उल्लेख गरिएको छ । बिट्क्वाइन माइनिङ र कारोबार तोकेर यसरी टिप्पणी गरिएको यो पहिलो पटक हो । एजेन्सी
२०७८ जेठ ९ गते प्रकाशित।
प्रकाशित समय : १३:२७ बजे