नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ ।

वि.सं.२०८० भदौ १ शुक्रवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको आज आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कमा आधारित तथ्यांक सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका अनुसार वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४७ खर्ब ९७ अर्ब पुगेको छ ।

प्रकाशित समय : १४:१० बजे