आरम्भ चौतारी लघुवित्तले प्राप्त गर्यो देउराली लघुवित्त

वि.सं.२०७८ मंसिर १ बुधवार

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था प्राप्त गरेको छ ।
आज मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा दुई वित्तीय संस्थाको एकीकृत कारोबार सुरु भएको हो ।
एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार र सदस्य संख्या ५२ हजार ४१९ पुगेको छ । साथै यसमा आवद्ध ५२ हजार ९५२ को बचत परिचालन रु एक अर्ब ४७ करोड ६५ लाख ५७ हजार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए । उनले संस्थामा ९२ हजार ९५२ ऋणी रहेको बताए ।
संस्थाको पाँच अर्ब ३२ करोड २४ लाख कर्जा लगानी रहेको जनाइएको छ । एकीकृत कारोबारपछि संस्थाले ५२ जिल्लामा १४९ शाखामार्फत सेवा दिनेछ । संयुक्त कारोबारको शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नेपालको लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ६८ रहेकामा अझै बढ्ने भएकाले नेपालजस्तो मुलुकमा कति बैंक तथा वित्तीय संस्था आवश्यक हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको बताए ।
संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले नेपालमा लघुवित्त संस्थासामु ठूलो चुनौती रहेको उल्लेख गर्दै केही नीतिगत समस्या भएकाले त्यसलाई हटाउन वित्तीयविज्ञद्वारा पहल भइरहेको बताए । देउराली लघुवित्तका अध्यक्ष विनोद ज्ञवालीले एकीकृत कारोबारपछि वित्तीय संस्थालाई सबल र सक्षम बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममार्फत संस्थामा देउराली लघुवित्तका अध्यक्ष ज्ञवालीलाई सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीलाई कम्पनी सचिवमा नियुक्त गरिएको छ ।

प्रकाशित समय : ११:२८ बजे