मर्जरसँगै कुन बैंकको हैसियत कति ?

वि.सं.२०७९ पुस २९ शुक्रवार

काठमाडौं । हालचालै मर्जर तथा एक्वीजिशन टुंग्याएका र अहिले पनि यसै प्रक्रियामा रहेका एक दर्जन बाणिज्य बैंक मिलेर ६ अेटा बन्दै छन् ।
नबिलले नेपाल बंगलादेश बैंक किनेर गत असारमै एकीकृत कारोबार सुरु गरिसकेको थियो । त्यसयता कुमारी र एनसीसी मिलेर कुमारी बैंक बनेको छ ।
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू मिलेर ग्लोबल आईएमई बैंक बनेको छ । सेञ्चुरी बैंक प्रभू बैंकमा विलय भएको छ । बुधबारमात्रै नेपाल इन्भेण्टमेण्ट र मेगा मिलेर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बनेको छ ।
अब छिट्टै नै हिमालयन बैंकमा सिभिल बैंक गाभिँदै छ । लक्ष्मी र सनराइज बैंक पनि गाभिएर लक्ष्मी सनराइज बैंक बन्ने भएको छ । हिमालयनको एकीकृत कारोबार माघ १८ भित्र गर्ने भनिए पनि लक्ष्मी सनराइजले कहिलेसम्म मर्जर टुंग्याउँछ भन्ने यकीन छैन ।
राष्ट्र बैंकले ठूला बैंकको मर्जर नीतिलाई प्रोत्साहित गर्ने योजनाहरु पुस मसान्त पछि पनि निरन्तरता दिने संकेत गरेका कारण थप बैंकहरु गाभिने संभावना बढेको छ ।
बुधबार नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एकीकृत कारोबार उद्घाटन समारोहमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले अब दोस्रो चरणको मर्जरपछि नेपालमा ६–७ वटामात्रै बैंक बाँकी रहने भनेका छन् ।
ठूला बैंकहरुको मर्जरको यो प्रतिस्पर्धाले बैंकहरुबीच को ठूलो बन्ने भनेर होडबाजी पनि गराएको छ ।
यसअघि हिमालयन र नेपाल इन्भेष्टमेण्टबीच मर्जर प्रक्रिया अघि बढेपछि उद्योगपति विनोद चौधरीले हतार हतार नेपाल बंगलादेश बैंक किनेर नबिललाई अधिकांश सूचकमा देशकै ठूलो बैंक बनाएका थिए ।
तर त्यसको ६ महिना वित्दा नवित्दै नबिलको यो विरासत खोसिएको छ ।
अब धेरैजसो सूचकमा ग्लोबल आईएमई देशकै ठूलो बैंक बनेको छ । कुल पूँजीका आधारमा नेपाल इन्भेण्टमेण्ट मेगा बैंकको आकार ठूलो भएको छ ।
यहाँ हामीले गत असोज मसान्तको वित्तीय विवरणमा टेकेर हालै मर्जरमा गएका र प्रक्रियामा रहेका बैंकहरुको हैसियत कहाँ हुन्छ भन्ने चर्चा गरिने छ ।
मर्जरपछि ग्लोबल आईएमई बैंकसँग ४ खर्ब ९५ अर्बभन्दा बढी सम्पत्ती जम्मा भएको छ । दोस्रो स्थानमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक छ । ऊसँग ४ खर्ब ७१ अर्बको सम्पत्ती छ ।
तेस्रोमा नबिल र चौंथोमा कुमारी बैंक आउँछ । तर मर्जरपछि पनि लक्ष्मी सनराइज, प्रभू र हिमालयनभन्दा एनआईसी एसिया बैंकसँग बढी सम्पत्ती हुने छ ।
एनआईसी सम्पत्तीको हिसाबले पाँचौं स्थानमा रहने छ भने लक्ष्मी सनराइज छैटौं, प्रभू सातौं र हिमालयन आठौं बन्ने छन् । लक्ष्मी सनराइजको मर्जर नहुञ्जेल प्रभू बैंक छैटौं स्थानमा आएको छ ।
त्यसपछि राष्ट्रिय बाणिज्य बैंक, एनएमबी, सिद्धार्थ, नेपाल बैंक, कृषि विकास, एभरेस्ट, प्राइम, सानिमा, सिटिजन्स, माछापुच्छ«े, नेपाल एसबीआई र अन्त्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
कुल पूँजीका हिसाबले अहिले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सबैभन्दा ठूलो भएको छ । ऊसँग ५८ अर्ब ८ करोडभन्दा बढी पूँजी भएको छ । ग्लोबल आईएमईसँग ५७ अर्ब ४१ करोड पूँजी छ ।
तेस्रो स्थानमा रहेको नबिलसँग ५३ अर्ब २६ करोड र चौंथो भएको कुमारीसँग ३८ अर्ब ५६ करोडभन्दा बढी पूँजी छ ।
पूँजीका हिसाबले नेपाल बैंक अझै पनि पाँचौं नम्बरमा आएको छ । मर्जरपछि पनि हिमालयन छैटौं नम्बरमा रहने छ । त्यसपछि राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकजस्ता सरकारी बैंक आउने छन् ।
लग्मी सनराइजको हैसियत मर्जरपछि पनि ९ औं नम्बरमा पुग्ने छ । हाल आठौं नम्बरमा पुगेको प्रभू बैंक यी दुई मर्जर टुंगिएसँगै १० औं स्थानमा झर्ने छ ।
त्यसपछि प्राइम, एनएमबी, एनआईसी एसिया, एभरेस्ट, सिद्धार्थ, सिटिजन्स, स्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई, सानिमा र अन्त्यमा माछापुच्छ्रे बैंक रहने छ ।
बैंकको कारोबारको आकार नाप्ने मुख्य हतियार निक्षेप नै हो । कुन बैंकसँग कति वित्तीय स्रोत छ भन्ने यसले दर्शाउँछ । अहिले निक्षेपमा पनि ग्लोबल आईएमई बैंक अगाडी आएको छ । ऊसँग असोज मसान्तमै ३ खर्ब ८९ अर्ब निक्षेप थियो ।
जुन अहिले ४ खर्ब हाराहारी रहेको भनिएको छ । दोस्रो स्थानमा नेपाल इन्भेष्टमेण्ट मेगा र तेस्रोमा नबिल बैंक आएको छ ।
निक्षेपमा अहिले पनि एनआईसी एसिया बैंक चौंथो ठूलो हो । त्यसपछि कुमारी र प्रभू बैंक आउँछन् । लक्ष्मी सनराज्य र हिमालयन दुबैले मर्जरपछि राष्ट्रिय बाणिज्य बैंकलाई उछिन्ने छन् ।
यी दुई बैंकको मर्जर हुन्छ भन्ने विस्वास लिएर तथ्यांक केलाउँदा दशौं स्थानमा नेपाल बैंक आउने छ ।
त्यसपछि सिद्धार्थ, एनएमबी, एभरेस्ट, कृषि विकास, प्राइम, सिटिजन्स, सानिमा, माछापुच्छ्रे, नेपाल एसबीआई र अन्त्यमा स्ट्याण्डर्ड चार्टर्ड रहने छन् ।
कर्जा तथा सापटीको हिसाबमा पनि अहिले ग्लोबल आईएमई बैंक नै ठूलो भएको छ । ऊसँग असोजमै ३ खर्ब ७६ अर्बभन्दा बढी कर्जा थियो । नेपाल इनभेष्टमेण्ट मेगा बैंकसँग ३ खर्ब २९ अर्ब र नबिलसँग ३ खर्ब १५ अर्बभन्दा बढी कर्जा असोजमै थियो । कर्जाको हिसाबमा पनि कुमारी बैंक चौंथो बनेको छ । एनआईसी एसियाले पाँचौं ठूलो आकार धारण गरेको छ ।
मर्जरपछि लक्ष्मी सनराइज छैटौं र हिमालयन सातौं हुने छन् । तर त्यसपछि आठौं स्थानमा पुग्ने प्रतिक्षामा रहेको प्रभू बैंक हालका लागि भने छैटौं ठूलो हो ।
राष्ट्रिय बाणिज्य, सिद्धार्थ, एनएमबी, कृषि विकास, नेपाल बैंक, एभरेस्ट, प्राइम, सानिमा, सिटिजन्स, माछापुच्छ्रे, नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्ड त्यसपछिको सिलसिलामा आउने छन् ।
कस्तो छ आकार ?
अहिले धेरै सूचकमा पहिलो भएको ग्लोबल आईएमई हालसम्म २१ वटा संस्था गाभिएर बनेको बैंक हो । यसमध्ये ६ वटा त बाणिज्य बैंक नै गाभिइसकेका छन् । यसले गर्दा ग्लोबलको आफ्नै विस्तार भन्दा पनि मर्जरले आकार ठूलो बनाएको हो । तर अरु संस्थाले पनि मर्जरको इतिहास बोकेका छन् ।
दोस्रो ठूलो बनेको नेपाल इन्भेष्टमेण्ट बैंकमा यसअघि नै एस डेभेलपमेण्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स र जेबिल्स फाइनान्स गाभिएको थियो । मेगा बैंकले त गण्डकी विकास बैंक, टुरिज्म डेभेलपमेण्ट बैंक र पश्चिमाञ्चल विकास बैंक गाभेको थियो । यी ८ संस्थाको एकीकृत रुपमा अहिले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बनेको हो ।
तेस्रो ठूलो नबिल बैंकमा नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स गाभिएको थियो । चौंथो स्थानमा रहेको कुमारी बैंकमा पनि उस्तै मर्जरको लामो सूची गाँसिएको छ ।
यसअघि नै कुमारीले मात्रै देव विकास बैंक, काष्ठमण्डप डेभेलपमेण्ट बैंक, महाकाली विकास बैंक, पश्चिमाञ्चल फाइनान्स र कांक्रेविहार विकास बैंक गाभेको थियो ।
त्यस्तै एनसीसी बैंकले इन्फ्रास्ट्रक्चर डेभेलपमेण्ट बैंक, एपेक्स डेभेलपमेण्ट बैंक, सुप्रीम डेभेलपमेण्ट बैंक र इण्टरनेशनल डेभेलपमेण्ट बैंक गाभेको थियो । यसरी ११ संस्था मिलेर अहिले कुमारी बैंक बनेको छ ।
प्रभू बैंक पनि उस्तै लामो मर्जर एक्वीजिशन प्रक्रियाबाट आएको हो । प्रभू फाइनान्स कम्पनीमा वैभव फाइनान्स मिसाएर प्रभू विकास बैंक बनेको थियो ।
त्यसमाथि जेनिथ फाइनान्स, गौरीशंकर डेभेलपमेण्ट बैंक, किष्ट विकास बैंक र ग्राण्ड बैंक मिसाइएको थियो ।
उता सेञ्चुरीले अरनिको डेभेलपमेण्ट बैंक, इन्नोभेटिभ डेभेलपमेण्ट बैंक, सगरमाथा फाइनान्स, सेती फाइनान्स र अल्पाइन डेभेलपमेण्ट बैंक मिसाएको थियो । यसरी १२ वटा संस्था मिलेर प्रभू बैंक बनेको छ ।

प्रकाशित समय : ०९:१७ बजे