समय परिवर्तनशिल छ त्यसैले समय बलवान छ : बासु गौतम

Spread the love
  •  
  •  
  •  

हामी सानै थियौं। दुरदर्शन नामक भारतिय च्यानलबाट हरेक अाईतवार बिहान महाभारत धारावाहिक प्रशारित हुन्थ्यो इशा नब्बेको सुरुवाती बर्षहरुमा।  महाभारत हेर्न टेलिभिजन सेट अगाडि परिवारका सदस्यहरु, टोल-छिमेक सबै झुम्मिन्थे र वास्तबमा प्रत्येक अाईतवार बिहान साप्ताहिक एउटा सानोतिनो पर्व जस्तो हुन्थ्यो त्यो ताका। धारावाहिकको सुरुवातमा पृष्‍ठभुमीमा शंखध्वनी र संगीतको सम्मीश्रण सँगै एउटा परिपक्व आवाज सहितको कथावाचकले आफुलाई समय भनेर परिचय गरांउथे।थोरै दम्भ र धेरै परिपक्वता मिसिएको जस्तो लाग्ने कथावाचकले आफु समय भएको बताउंथे। समय बलवान हुन्छ भन्थे र अब आफुले यस्तै कुनै समयको अमरकथा सुनाउछुं भन्थे। दृश्य अन्तरिक्षमा नचिरहेका ठुला-साना ग्रह र ताराहरुको देखिन्थ्यो। हामी व्यग्रता र कौतुहल्ताका साथ त्यो कथा हेर्न एकटकले बसेका हुन्थयौं। र महाभारत सुरु हुन्थ्यो हाम्रा लागि।

महाभारत भित्रको समय, धैर्यता, बलवान, आदर्श, जीवन-दर्शन यस्ता बिषयले हामीलाई प्रभाव पार्न हामी सानै थियौं होला।छुन्थ्यो त केवल नौलो प्रविधीमा निर्मित “एनिमेटेड” लडाईं र युद्धका दृष्‍यहरुले। हाम्रा लागि महाभारत यसैगरी लडाईंमा सकिएको थियो। परिवर्तनशिल त्यही समयले कालान्तरमा युद्ध र लडाईं त महाभारतको एउटा पाटो मात्र भएको भन्ने कुरा सिकायो। कसैका लागि महत्वपूर्ण पाटो र कसैका लागि खासै महत्व नराख्ने पाटो।

महाभारतको कथावाचकको समय जस्तो अहिले सामाजिक सन्जालको समयघेरा अर्थात Timeline भएको छ। परिवर्तनले समयलाई पछारेको जस्तो भान हुन थालेको छ।  हिजो र आज सामाजिक सन्जालका समयघेरा भित्र देखिएका दृष्‍यहरुले महाभारतको घटनाक्रमहरुमा जस्तै अधिकांसलाई अचम्मित तुल्याउन थालेको छ। र क्रमश: हिजो र आज अब सामान्य आजभोलीमा परिणत हुँदै जानेछ। महाभारतको लडाई किन हुँदै थियो अर्जुनको प्रश्नलाई उत्तर दिनलाई त कृष्ण आफै उपस्थित थिए रणभुमीमा तर यो युद्ध किन भयो भन्ने प्रश्न आफै जिर्ण भएको छ।

प्रश्न सोध्ने जोश र जांगर सबै निर्वासनमा छन। नियतीलाई स्विकार्नु बाहेकको बिकल्प हाम्रो संस्कारले दिन सिकाएन। आफ्नो भाग्यनिर्माता आफै हो अरु कोही होइन भन्ने सोचलाई तिलान्जली दिदैं हिड्दांको परिणाम त होइन कतै यो? संसार बद्ल्न हिंडेकाहरु तर आफु बदलिएको मेसो नपाउनेहरु बाट यो प्रश्नको उत्तर कदापी अपेक्षा गर्न सकिदैन।

फर्किएर महाभारत तिर फेरी – सानो छदां हामीलाई महाभारतको लडाईंले आकर्षित गर्थ्यो, अहिले लडाईं बाहेकको सबैकुराले आकर्षित गर्छ किनभने समय परिवर्तनशिल छ त्यसैले समय बलवान छ।

Facebook Comment